नेपाल टी-२० लिगको लागि सञ्चालक परिषद् गठन, भारतीय पूर्वक्रिकेटर पनि सदस्य

Image

काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० क्रिकेट लिगका लागि सञ्चालक परिषद् (गभर्निङ काउन्सिल) गठन गरेको छ । क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल निर्देशक रहने गरी पाँच सदस्यीय सञ्चालक परिषद् गठन गरिएको हो ।

क्यानले बुधबार जारी गरेको वक्तव्यका अनुसार समितिको सदस्यमा भारतीय पूर्वक्रिकेटर तथा भारतीय क्रिकेटर संघका वर्तमान अध्यक्ष अशोक मलहोत्रा, क्यानका सदस्य दुर्गाराज पाठक र क्यानका जनसम्पर्क समितिका संयोजक भानुभक्त सिग्देल छन् । त्यस्तै, लिगको रणनीतिक तथा व्यावसायिक साझेदार सेभेन थ्री स्पोर्टसबाट जतिन अहलुवालिया सदस्य छन् ।

क्यान र सेभेन थ्री स्पोर्टसबीचको सम्झौताअनुसार पाँच सदस्यीय सञ्चालक परिषदमा दुवै पक्षबाट क्रमसः ३ र २ जना रहने उल्लेख रहेको भन्दै क्यानका कार्यवाहक सचिव मल्लले सम्झौता कार्यान्वयन गरिएको बताए । भारतीय क्रिकेट खेलाडी संघका वर्तमान अध्यक्ष तथा भारतीय पूर्वराष्ट्रिय क्रिकेटर अशोक मल्होत्राले पनि नेपाल टी–२० लिगको सञ्चालक परिषद सदस्यमा रहन सहमत हुनुलाई क्यानले ठूलो उपलब्धीका रूपमा लिएको छ ।

‘हिजोका दिनमा केहि व्यक्तिले क्यान र सेभेन थ्री स्पोर्टसलाई बदनाम हुने गरी धेरै हल्लाहरू गरे । तर, सोही कम्पनीमार्फत भारतीय क्रिकेटका दिग्गज व्यक्तित्वले नेपाली क्रिकेट विकासका लागि काम गर्न राजी हुनुभएको छ,’ मल्लले भने, ‘उहाँले आईपीएलको पनि सञ्चालक परिषदमा रहेर काम गरिसक्नुभएको छ । उहाँको अनुभवले नेपाली क्रिकेटको व्यावसायिकीकरणलाई थप मजबुद पार्ने विश्वास क्यानले लिएको छ ।’

६५ वर्षीय मल्होत्राले आफ्नो अन्तर्राष्ट्रिय करियरमा सात टेष्ट र २० टी-२० म्याच खेलेका थिए । उनले अन्तिमपटक १९८६ मा अन्तिमपटक अन्तर्राष्ट्रिय म्याच खेलेका थिए । क्यानले पहिलोपटक आयोजना गर्न लागेको नेपाल टी–२० लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ ।