कम्बोडियाविरुद्ध भारतकाे सुरुवाती अग्रता, सुनिल क्षेत्रीले गरे सुन्दर गोल

Image

काठमाडौं ।

एएफसी एसियन कप छनोट २०२३ अन्तर्गत तेस्रो चरणको समूह ‘डी’ अन्तर्गत भइरहेको खेलमा कम्बोडियाविरुद्ध भारतले सुरुवाती अग्रता लिएको छ । भारतको विवेकानन्द युवा भारतीय स्टेडियममा भइरहेको खेलमा भारतलाई कप्तान सुनिल क्षेत्रीले गोल गरे ।

उनले खेलको १४ औं मिनेटमै टिमलाई अग्रता दिलाए । फिफा वरियतामा भारत १०६ र कम्बोडिया १७१ औं स्थानमा रहेका छन् । समूह ‘डी’ मा भारत, कम्बोडियासहित हङकङ, भारत र अफगानिस्तान रहेका छन् ।
समूह ‘डी’ कै आज भएको खेलमा हङकङले अफगानिस्तानलाई २–१ गोल अन्तरले हरायो । नेपालले पहिलो खेलमा आज राति १ बजे जोर्डनविरुद्ध खेल्दैछ ।

नेपालले हालसम्म जोर्डनसँग चार खेल खेलको छ । जसमा नेपालले तीन हार एक बराबरीको नतिजा निकालेको छ । नेपाल–जोर्डनले सन् २०११ मा पहिलोपटक एकअर्काको सामना गरेका थिए । विश्वकप छनोटअन्तर्गतको उक्त भेटमा नेपालविरुद्ध जोर्डनले ९–० को फराकिलो जित हात पारेको थियो ।

सोही वर्ष विश्वकप छनोटअन्तर्गत नै घरेलु मैदानमा नेपालले जोर्डनलाई १–१ को बराबरीमा रोकेको थियो । नेपालले विश्वकप छनोटअन्तर्गत सन् २०१९ र २०२१ मा भएको भेटमा समान ३–० को हार बेहोरेको थियो । इतिहास हेर्दा नेपालले जोर्डनसँग १६ गोल बेहोर्दा एक गोल मात्र फर्काउन सकेको छ ।

नेपालको सम्भावित–११ : गोलकिपर- दीप कार्की, रक्षकः गौतम श्रेष्ठ (राइट डिफेन्स), सुमन अर्याल (लेफ्ट डिफेन्स), विकास खवास र विकास तामाङ (सेन्ट्रल), मिडफिल्डरः सुरजजिउ ठकुरी, सेसेहाङ आङदेम्बे, पुजन उपरकोटी, स्ट्राइकरः आयुश घलान, नवयुग श्रेष्ठ (कप्तान), मनिष डाँगी