काठमाडौं ।
वेष्ट इण्डिजविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा घरेलु टोली पाकिस्तान ५ विकेटले विजयी भएको छ । गएराति सम्पन्न खेलमा वेष्ट इण्डिजले दिएको ३०६ रनको लक्ष्य पाकिस्तानले ४९.२ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो ।
उसका लागि कप्तान बाबर आजमले शतकीय पारी खेले । १०७ बलको सामना गरेका उनले नौ चौकासहित १०३ रन बनाए । एकदिवसीयमा बाबरको यो १७ औं शतक हो । योसँगै उनले कप्तानको रूपमा सर्वाधिक छिटो १ हजार रन पूरा गर्ने कीर्तिमान पनि बनाएका छन् ।
बाबरले यो कीर्तिमान १३ इनिङ्समा पूरा गरेका हुन् । योसँगै उनले भारतीय पूर्वकप्तान विराट कोहलीको नाममा रहेको १७ औं इनिङ्सको कीर्तिमान भंग गरेका छन् । साथै, बाबरले १७ शतक छिटो बनाउने ब्याटरको रेकर्ड पनि बनाए ।
उनले ८५ इनिङ्समा यो उपलिब्ध हासिल गरे । यसअघि दक्षिण अफ्रिका हसिम अमलाले ९८ इनिङ्समा १७ ओडिआई शतक बनाएका थिए । वेष्ट इण्डिजविरुद्धको जितमा खुशदील साहले २३ बलमा १ चौका र ४ छक्कासहित अविजित ४१ रनको योगदान दिए ।
त्यस्तै, इमाम उल हक ६५, मोहम्मद रिजवान ५९ र फखर जमान ११ रनमा आउट भए । वेष्ट इण्डिजका अल्जारी जोशेफले दुई, जेडेन सिल्स, रोमारियो शेफर्ड, अकिल हुसेनले एक/एक विकेट लिए । त्यसअघि, मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको वेष्ट इण्डिजले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०५ रन बनायो ।
उसका लागि ओपनर शाई होपले शतकीय पारी खेले । १३४ बलको सामना गरेका उनले १५ चौका र एक छक्काको सहयोगमा १२७ रन बनाए । शहमराह ब्रुक्सले ८३ बलमा सात चौकासहित ७० रनको योगदान दिए । रोभम्यान पावेलले ३२, रोमारियो सेफर्डले २५ र निकोलस पूरनले २१ रन बनाए ।
पकिस्तानका लागि हरिस रौफले चार, शाहीनसाह अफ्रिदीले दुई, मोहम्मद नवाज र शादब खानले एकरएक विकेट लिए । यो जितसँगै तीन खेलको सिरिजमा पाकिस्तानले १–० को अग्रता लिएको छ । पाकिस्तान–वेष्ट इण्डिजबीचको दोस्रो खेल शुक्रबार हुनेछ ।















