नेपाल र ओमानबीचको खेल आज, यस्तो छ सम्भावित प्लेइङ–११

Image

काठमाडौं ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा रहेको नेपाली क्रिकेट टोलीले त्रिकोणात्मक सिरिजमा आज पहिलो म्याच खेल्दैछ । नेपालले पहिलो खेलमा ओमानको सामना गर्न लागेको हो । नेपाल र ओमानबीचको खेल नेपाली समयअनुसार राति ९ः१५ बजे सुरु हुनेछ ।

नेपाल १२ खेलमा ६ मा जित र ६ मा हारका साथ छैटौं स्थानमा छ । ओमान ३२ खेलमा १९ मा जित र १२ मा हारका साथ शीर्षस्थानमा छ । नेपाललाई शीर्ष तीन स्थानमा रहँदै आगमी वर्ष हुने एकदिवसिय विश्वकप छनोट खेल्न जित्नै पर्ने दबाब छ । ओमान अमेरिकासँग पहिलो खेलमा १ सय १४ रनले पराजित भएको थियो ।

ओमानविरुद्ध मैदान उत्रदा नेपाल सुखद नतिजाको योजनामा रहेको छ । नेपाल ओमानलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । ओमान पनि नेपाललाई हराएर सुखद सुरुआतको पक्षमा रहनेछ । ओमान नेपालको चिरपरिचित प्रतिद्वन्दी हो । तर, पछिल्लो चार भेटमा नेपालले ओमानलाई एक पटक मात्र हराएको छ । लिग–२ अन्तर्गत नै नेपालले ओमानलाई २०२१ को सेप्टेम्बरमा उसैको मैदानमा ७ विकेटले हराएको थियो । त्यसअघिको तीन भेटमा ओमान लगातार विजयी भएको थियो ।

लिग–२ मा ओमान ३२ खेलमा ४० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नेपाल भने १२ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । सिरिज अन्तर्गत नै नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा फेरि ओमानविरुद्ध जुन १४ र अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने तालिका छ ।

ओमानविरुद्ध नेपालको सम्भावित-११ : सुवास खकुरेल, सुनिल धमला, देव खनाल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सन्दीप लामिछाने (कप्तान), आदिल अन्सारी, करण केसी र सोमपाल कामी ।