काठमाडौं ।
जिम्बाब्वेविरुद्धको एकदिवसीय सिरिज पाहुना टोली अफगानिस्तानले क्लिन स्विप गरेको छ । बिहीबार भएको तेस्रो खेलमा ४ विकेटले जिम्बाब्वेलाई हराएसँगै अफगानिस्तानले सिरिज ३–० ले क्लिन स्विप गरेको हो । सिरिजको अन्तिम तथा तेस्रो खेलमा जिम्बाब्वेले दिएको १३६ रनको लक्ष्य अफगानिस्तानले ३७.४ ओभरमा भेट्टायो ।
उसका लागि कप्तान हसमतुल्लाह शाहिदीले ३८, मोहम्मद नाबीले अविजित ३४ र रहमत शाहले १७ रन बनाए । जिम्बाब्वेका लागि ब्लेसिङ मुजरबानी, तेन्दाइ छताराले दुई/दुई, रयान बर्ल र डायन मायर्सले एक/एक विकेट लिए ।
त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङको मौका पाएको जिम्बाब्वेले ४४.५ ओभरमा सबै विकेट गुमाएर १३५ रन बनायो । उसका लागि सिकन्दर राजाले ३८, रयान बर्लले २१, इनोसेन्ट कियाले १६, रेजिस चकाब्वाले १५ र मिल्टन सुम्बाले ११ रन बनाए ।
अफगानिस्तानका लागि राशिद खानले उत्कृष्ट बलिङ गरे । ७.५ ओभर बलिङ गरेका उनले ३१ रन दिएर सर्वाधिक तीन विकेट लिए । त्यस्तै, मोहम्मद नाबी, फजलहक फारुकीले दुई/दुई, अजमातुल्लाह उमरजाई, मुजीब उर रहमान र फरीद अहमदले एक/एक विकेट लिए । अफगानिस्तान सिरिजको पहिलो खेलमा ६० रन र दोस्रो म्याचमा आठ विकेटले विजयी भएको थियो ।















