काठमाडौँ। इंग्ल्यान्डको ‘सी’ टिमसँग हुने मैत्रीपूर्ण फुटबलका लागि नेपालको प्रारम्भिक राष्ट्रिय टोलीको घोषणा भएको छ । नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले आइतबार नेपालको प्रारम्भिक टोली घोषणा गरेका हुन् । नेपालले वैशाख २४ गते (मे ६ तारिख) सोमबार इंग्ल्यान्डमा मैत्रीपूर्ण खेल खेल्नेछ। खेल एल्डरसटको इबिबी रंगशालामा हुँदैछ।
नेपालसँग प्रतिस्पर्धा गर्न लागेको इंग्ल्यान्ड ‘सी’ राष्ट्रिय टोलीकै मान्यता प्राप्त टोली हो। इंग्ल्यान्ड ‘सी’ ले इंग्ल्यान्डको प्रतिनिधित्व गर्दै विभिन्न मुलुकसँग मैत्रीपूर्ण खेल खेल्दै आएको छ।
दुई देशबीच हुने खेलका लागि अल्डरसट टाउन फुटबल क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) र इंग्ल्यान्ड फुटबल एसोसिएसनसँग सम्झौता गरिसकेको छ।
यस्तै नेपाली राष्ट्रिय टोलीका आयुष घलान, दीप कार्की र सुरज जिउ ठकुरी लाई बाहिर राख्दै इंग्ल्यान्ड ‘सी’ विरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक टोलीको घोषणा गरेका छ।
मलेसियासँग भएको मैत्रीपूर्ण खेल र फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत बहराइनसँगको दोस्रो चरणको खेलमा पनि उनीहरूलाई समेटिएको थिएन।
गत फागुन १८ गते मलेसिया र बहराइनविरुद्ध हुने खेलका लागि एनिसले आयुष, दीप र सुरजसहित ३३ जनालाई प्रारम्भिक टोलीमा बोलाएका थिए। तर, फागुन २९ गते घोषणा गरिएको २३ सदस्सीय टोलीमा भने यी तीन खेलाडी परेनन्।

















