हङकङविरुद्ध नेपालको सानदार जित, एक खेलअगावै पुग्यो सेमिफाइनलमा

Image

काठमाडौँ । नेपाल ओमानमा जारी एसिसी प्रिमियर कप टी–२० प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार हङकङलाई ८ विकेटले हराउँदै नेपाल एक खेलअगावै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो

११५ रनको लक्ष्य पछ्याएको नेपालले १२.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर आसिफ शेखले १८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए । अर्का ओपनर कुशल भुर्तेल १९ बलमा ३ चौका र २ छक्कासहित ३२ रन बनाए । नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले ५.३ ओभरमा ७० रन जोड्दै शानदार सुरुवात दिलाएका थिए ।

रोहित पौडेल २० बलमा ३ चौकासहित २५ रनमा नटआउट रहे । सन्दीप जोराले १७ बलमा १ चौका र १ छक्कासहित १९ रन बनाए । बलिङतर्फ हङकङका एहसान खान र यासिम मुर्तजाले १/१ विकेट लिए ।

त्यसअघि अल अमरेत क्रिकेट ग्राउण्ड १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १७.५ ओभरमा ११४ रनमा अल आउट भएको थियो । कप्तान निजाकत खानले २६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

ओपनर मार्टिन कोट्जी ८, निजाकत खान १२, बाबर हायत ६, अजिज खान ७, यासिम मुर्तजा २ नसरुल्ला राणाले ६, जिशान अली १४ र एहसान खान ११ रनमा आउट भए । नेपालका तीव्र गतिका बलर अभिनाश बोहराले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए ।

ललित राजवंशीले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले २ र करण केसीले १ विकेट लिए ।  नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।