काठमाडौं । वैशाख १९ गते बुधवार नेपाल क्रिकेट संघ (क्यान)ले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गर्यो ।
टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अभिनास बोहरा, सागर ढकाल, कमलसिंह ऐरी समावेश भए ।
उत्त घोषण भएको टोलीमा दोस्रो पटक मौका पाउने एक्ला खेलाडी बन्दै छन् सोमपाल कामी।
यसअघि बंगलादेशमा नेपालले सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो। फेरी नेपालले दश बर्षपछी खेल्दै छन्। यो सँगै नेपाली क्रिकेटमा कति खेलाडी आए र कति खेलाडी बीचैमा हराए पनि।

नेपालले विश्वकप खेलेको टोलीका पारस खड्का, ज्ञानेन्द्र मल्ल, प्रदीप ऐरी, विनोद भण्डारी, शक्ति गौचन, शरद भेषावकरलगायतका खेलाडी क्रिकेटमै भए पनि अहिले उनिहरुको भूमिका फरक छ, तर सोमपाल भने अझै ब्याट र बलसँगै क्रिकेट मैदानमै छन्।
सन् २०१४ मा विश्वकप खेलेका टोलीबाट विकेट किपर विनोद भण्डारी र तीव्र गतिका बलर सोमपाल मात्र यो पटक विश्वकप खेल्ने छनोट टोलीमा थिए। विनोद भने छनोट हुन सकेनन् तर सोमपाल सफल भए।
सोमपालले अहिलेसम्म नेपालका लागि ५४ एकदिवसीय र ६५ टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। उनले एकदिवसीय खेलमा ७१ विकेट र टी-२० मा ५८ विकेट लिएका छन्। उनले एकदिवसीय खेलमा दुई अर्धशतक समेत बनाएका छन्।
एक दशक नेपाली टोलीबाट खेल्दा सोमपाल अहिले भरपर्दा तीव्र गतिका बलरमात्र नभएर तल्लो क्रमको ब्याटिङमा समेत नेपाली टोलीको आशा बन्ने गरेका छन्।
१० वर्षअघिको त्यो विश्वकप
नेपालले सन् २०१४ मा बंगलादेशमा विश्वकप खेल्दा सोमपाल टोलीमा नयाँ खेलाडी थिए। भर्खरै राष्ट्रिय टोलीमा डेब्यु गरेका उनी त्यसबेला राम्रो नेपाली बोल्न पनि जान्दैनथे। विश्वकपअघि उनले धेरै खेल खेलेका पनि थिएनन्।
त्यो समयमा सोमपाल आफैँलाई पनि विश्वकपमा छनोट हुन्छु भन्ने विश्वास थिएन। अघिल्लो विश्वकपमा सोमपालसँगै अविनाश, करण, अमित भट्टराई थिए। तर सोमपालले मौका पाए। 
टोलीमा अनुशासित र मेहनती खेलाडीको छवि बनाएका सोमपालले सन् २०१४ को फेब्रुअरीमा विश्वकप छनोटअन्तर्गत न्युजिल्यान्डमा भएको प्रतियोगितामा युएईविरूद्धको खेलमा उनले राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए।
को हुन सोमपाल कामी?
गुल्मीमा जन्मेका सोमपालको बल्यकाल भारतको पञ्जाबमा बितेको थियो। बुवा पञ्जावमा कामका लागि पुगेपछि सोमपाल पनि उतै गएका थिए। त्यहाँ ठूलो दु:खले क्रिकेट सिकेका सोमपाल सन् २०१३ को अन्त्यमा नेपाल आएका थिए।
क्रिकेटर अर्जुन अधिकारीको सम्पर्कमा नेपाल आएका सोमपालले पहिलो पटक नेपाल क्रिकेट फ्यान क्लबबाट खेल्ने मौका पाएका थिए। उनले फ्यान क्लबको पहिलो खेलमा डिल्लीबजार क्लबविरूद्ध खेल्दै २ विकेट लिँदा ४६ रन पनि बनाएका थिए ।
फ्यान क्लबाट यु-१९ जिल्ला छनोट खेलेका सोमपालले क्षेत्रीय छनोटमा काठमाडौंबाट खेल्ने अवसर पाए। क्षेत्रीय छनोटमा उनी उत्कृष्ट खेलाडी र उत्कृष्ट ब्याट्सम्यान मात्र भएका थिए। क्षेत्रीय प्रतियोगितापछि सोमपालले काठमाडौंबाट यु-१९ राष्ट्रिय प्रतियोगिताको छनोट खेले। नुवाकोट र भक्तपुरविरूद्ध लगातार शतक प्रहार गरेपछि सोमपालको चर्चा चुलिएको थियो।
उनको शतक भलै जिल्ला स्तरीय प्रतियोगिता थियो, चर्चा राष्ट्रिय स्तरमा भयो। सोमपालको खेलबारे तत्कालीन प्रशिक्षक दासानायकेले पनि चासो देखाए।
जिल्ला छनोटमा उत्कृष्ट खेलपछि सोमपालले काठमाडौंको प्रतिनिधित्व गरेर यु-१९ राष्ट्रिय प्रतियोगिता खेले। उनले सेमिफाइनलमा जनकपुरविरूद्ध ६८ रन बनाए र ४ विकेट लिए।
वीरगञ्ज विरूद्धको फाइनलमा ३ विकेट लिएर काठमाडौंलाई च्याम्पियन बनाउन महत्वपूर्ण योगदान दिए। त्यसपछि सोमापल यु-१९ एसिया कप तथा जर्नी टु वर्ल्डका लागि घोषणा गरिएको नेपालको राष्ट्रिय टोलीमा परेका थिए। 
सोमपाललाई जर्नी टु वर्ल्ड कप क्रिकेट प्रतियोगितामा पहिलो पटक नेपाली टोलीबाट खेल्ने अवसर प्रदान गरिएको थियो।
विश्वकप छनोटको तयारीका लागि आयोजना भएको प्रतियोगिता अनौपचारिक थियो। उनले प्रतियोगितामा ४ खेलमा १० विकेट लिएका थिए। त्यही प्रतियोगिताको आधार मान्दै सन् २०१३ को डिसेम्बरमा घोषणा गरिएको राष्ट्रिय टोलीमा सोमपालले पहिलो पटक स्थान पाएका थिए।
सोमपाललाई राष्ट्रिय टोलीमा भने तीव्र गतिका बलरको रूपमा स्थान दिइएको थियो। किनकी त्यतिबेला नेपालको टोलीमा तीव्र गतिको बलिङ राम्रो थिएन। प्रशिक्षक पुबुदु दासानायकले तीव्र गतिको बलिङमा थप मेहनत गर्न सुझाव दिएको सोमपालले अहिले पनि बिर्सेका छैनन्।
सन् २०१४ जनवरी १३ मा राष्ट्रिय टोलीमा डेब्यू गर्दा सोमपालले ओपनिङ बलरको जिम्मेवारी पाएका थिए। युएई विरूद्धको सो खेलमा सोमपालले विकेट लिन भने सकेनन्। उनले ७ ओभर बलिङ गर्दा ३८ रन खर्चिएका थिए। स्कटल्यान्ड विरूद्धको दोस्रो खेलमा भने उनले ३ विकेट लिए। सो प्रतियोगितामा सोमपालले ६ खेलमा ८ विकेट लिए।
नेपाललाई डिभिजन-३ देखि एकदिवसीय मान्यता दिलाउन सोमपालले दर्जनौं पटक विपक्षी खेलाडीलाई पेभिलियन फर्काइसकेका छन्। नेपालले पहिलो पटक टी-२० विश्वकप तथा एकदिवसीय खेल खेल्दा सोमपाल टोलीका महत्वपूर्ण सदस्य थिए।
सोमपाल र नेपालले दोस्रो पटक विश्वकप खेल्दा समूह ‘डी’ मा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा हुनेछ।
नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जुन ४ मा अमेरिकाको डालास र जुन ११ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ। बाँकी खेलहरू जुन १४ मा दक्षिण अफ्रिकासँग र जुन १६ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ।
विश्वकपको समूह चरणका खेल जुन १ देखि १८ सम्म हुनेछन्। त्यसपछि १९ देखि २४ जुनसम्म सुपर-८ हुनेछ। सेमिफाइनल २६ र २७ जुनमा हुनेछ भने फाइनल २९ जुनमा हुनेछ।
टी–२० विश्वकपका लागी नेपाली टोली : रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अभिनास बोहरा, सागर ढकाल, कमलसिंह ऐरी ।

नेपालका खेल
नेदरल्यान्डसविरूद्ध – जुन ४- अमेरिका, डालास
श्रीलंकाविरूद्ध – जुन ११ – अमेरिका, फ्लोरिडा
दक्षिण अफ्रिकाविरूद्ध – जुन १४ – सेन्ट भिसेन्ट
बंगलादेशविरूद्ध – जुन १६- सेन्ट भिसेन्ट
समूहमा भारत र पाकिस्तानको खेल जुन ९ मा न्युयोर्कमा हुनेछ। नेपाल रहेको समूहका खेल अमेरिका र वेस्ट इन्डिजमा हुनेछन्। अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकप २०२४ संयुक्त रूपमा आयोजना गर्न लागेका हुन्। पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी-२० विश्वकपमा २० टोलीले सहभागिता जाउँदैछन्।
विश्वकपमा ५५ खेल हुनेछन्। सुरूमा २० टोलीलाई ५-५ टोलीको ४ समूहमा विभाजन गरिएको हो। ४ समूहका शीर्ष २-२ टोली गरी कुल ८ टोली सुपर-८ मा पुग्नेछन्। सुपर-८ मा पनि दुई समूहमा प्रतिस्पर्धा हुनेछन्। सुपर-२ को दुई समूहका शीर्ष २-२ टोली सेमिफाइनलमा पुग्नेछन्।
समूह ए : भारत, पाकिस्तान, अमेरिका, क्यानडा, आयरल्यान्ड
समूह बी : इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान
समूह सी : न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा, पपुवा न्युगिनी
समूह डी : दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्यान्ड्स, नेपाल

















