काठमाडौं । नेपाली टिमका पुर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेलाई अर्को महिना अमेरिका र वेस्ट इन्डिजमा सुरु हुने आइसीसी टि-२० विश्वकपमा खेल्ने बाटो खुलेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) बाट सन्दीपको नाम नेपालको विश्वकप खेल्ने टोलीमा समावेश गर्न सकारात्मक जवाफ आएसँगै उनले विश्वकप खेल्ने बाटो खुलेको हो ।
विश्वकप खेल्नका लागि सन्दीपको नाम प्रारम्भिक सुचिमा नरहेका कारण क्यानले आइसीसीसँग छलफल गरेको थियो । सफाई पाए पछि लामिछाने आज टियु मैदानमा अभ्यासमा समेत देखिएका थिए । यस्तै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आइसीसीले सन्दीपको नाम समेटेर अन्तिम टोली घोषणा गर्न स्वीकृति दिएको बताए ।
अब क्यानले उनलाई अमेरिका भ्रमणमा पठाएर टोलीमा समेट्ने वा नसमेट्ने अन्तिम निर्णय लिनेछ । ‘आइसीसीले मे २४ तारिखसम्म अन्तिम खेलाडी सुची पठाउन भनेको छ । सन्दीपले विश्वकप खेल्ने बाटो खुलेको छ । अब ह्युस्टनमा मे २२ मा हुने पहिलो तयारी खेल भ्याउने हिसाबले उनलाई अमेरिका पठाउने तयारीमा छौं,’ चन्दले भने ।
काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीपले बुधबार उच्च अदालत, पाटनबाट सफाइ पाएका थिए ।सफाइ पाएलगत्तै बुधबार नै क्यानले उनीमाथिको निलम्बन फुकुवा गरेसँगै सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने बाटो खुलेको थियो ।
विश्वकप खेल्नका लागि सन्दीपको नाम प्रारम्भिक सुचिमा नरहेका कारण क्यानले आइसीसीसँग छलफल गरेको थियो । बिहीबार छलफलबाट सकारात्मक जवाफ आएको अध्यक्ष चन्दले बताएका हुन् ।

















