‘यो सन्दीपको होइन, देशको विषय हो, प्रधानमन्त्री स्तरबाटै पहल गर्छौं’ -क्यान अध्यक्ष चन्द

Image

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा नदिएपछि कतिपय क्रिकेट समर्थकहरु आक्रोशित बनेका छन्।

अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपमा सहभागी हुन जानका लागि उनको भिसा प्रक्रियाको सम्पुर्ण काम क्यानले पूरा गरेपछि आज ४ बजे उनको अन्तर्वार्ता तय भएको थियो। तर अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन अस्विकार गरेको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजानिक गरेका थिए।

बलात्कार मुद्दामा गत साता उच्च अदालतले सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई भिसा नदिएको खबर आश्चर्यजनक रहेको बताए।

उनले भने, ‘सन्दीपलाई भिसा नदिनु पर्ने कुनै कारण थिएन। यो सन्दीपको मात्र विषय होइन् यो देशको विषय हो। हामी पुन एकपटक प्रधानमन्त्री स्तबरबाट पहल गर्ने छौं।’

उनले प्रधानमन्त्रीलाई समेत यो विषय जानकारी भइसकेको भन्दै चाँडै निर्णय हुने बताए। उनले भिसा नदिएको कारण आफूलाई जानकारी नभएको बताए।

‘भिसा किन दिएन् त्यो सन्दीपलाई जानकारी दिएको होला। तर कुनैपनि कारण सन्दीपलाई रोक्नु उचित छैन्। हामी पुन पहल गर्छौं। किनकी आइसीसीले उसलाई खेलाउनका लागि सबै अनुमति दिइसकेकाले दूतावासले रोक्नु पर्ने कारण छैन,’ उनले भने।

यसअघि क्यानले अदालतको निर्णयबारे जानकारी गराउँदै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) लाई सन्दीप लामिछानेलाई विश्वकपमा सहभागी गराउने विषयमा पत्राचार गरेको थियो।

आइसीसीले सकरात्मक जवाफ दिएसँगै क्यानका सचिव पारस खड्काले मङ्गलवार राति लामिछानेको भिसा प्रक्रिया सुरु भएको विज्ञप्तिमार्फत जानकारी दिएका थिए।

लामिछानेलाई यसअघि सन् २०१९ मा पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो। तर दूतावासको आलोचना भएसँगै उसले त्यसमा त्रुटि भएको भन्दै केही घण्टामा नै उनलाई भिसा दिएको थियो।