काठमाडौं । आगामी जुनमा अमेरिक र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपको अन्तिम तयारीका लागि अमेरिकामा रहेको नेपाली टोलीले अमेरिकामा दोस्रो अभ्यास खेल भोली खेल्दैछ ।
आफ्नो दोस्रो अभ्यास खेलमा नेपाली राष्ट्रिय टोलीले स्थानिय ह्युस्टन हरिकेन्सको सामना गर्नेछ । खेल नेपाली समय अनुसार आईतबार बिहान पौने दुईमा सुरु हुनेछ ।
नेपालले ह्युस्टनसँगको पहिलो खेलमा नेपाल ६ रनले विजयी भएको थियो । नेपालले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको हरिकेन्सले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४० रन मात्र बनाउँन सक्यो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो । नेपालका लागि अनिल कुमार शाहले ३० बलमा ४७ रन बनाए । कप्तान रोहितकुमार पौडेलले २३ तथा गुलसन झाले २० रन बनाए ।
यसपछि नेपालले विश्वकपको दुई औपचारिक वार्मअप खेल खेल्नेछ । ४ जुन अर्थात जेठ २२ मा नेदरल्यान्ड्ससँग खेल्दै नेपालले टी-२० विश्वकप सुरुआत गर्नेछ ।
नेपालबाट अमेरिका पुगेको नेपाली टोली आफ्नो विश्वकपको दुई खेल रहेको वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा गएर तीन अभ्यास खेल खेलेको थियो । नेपालले स्थानिय टिमसँगको तीन खेलको अभ्यास खेलको सिरिज २-१ ले जितेको थियो ।













