काठमाडौं । भारतमा जारी ‘यू-१९ महिला टी-२० त्रिकोणात्मक शृङ्खला’ अन्तर्गत आज भएको खेलमा नेपाली यू-१९ महिला क्रिकेट टोली भारत ‘बी’ सँग १४२ रनको फराकिलो अन्तरले पराजित भएको छ।
बेंगलुरुस्थित बीसीसीआई सेन्टर अफ एक्सिलेन्स मैदानमा सम्पन्न खेलमा भारत ‘बी’ ले प्रस्तुत गरेको २१९ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै जम्मा ७६ रन मात्र बनाउन सक्यो।
विशाल लक्ष्य पछ्याउने क्रममा नेपाली ब्याटरहरू सुरुवातदेखि नै दबाबमा देखिए । नेपालका लागि त्रिसना विश्वकर्माले सर्वाधिक २६ बलमा २३ रन जोडिन् भने टिका शाहले ११ बलमा ११ रन र सोनी पाख्रिनले १७ बलमा ९ रन बनाइन् । अन्य ब्याटरहरूले दोहोरो अंकमा रन जोड्न नसक्दा नेपाल सस्तैमा समेटियो ।
नेपालको ब्याटिङ लाइनअप ध्वस्त पार्ने क्रममा भारत ‘बी’ की विधी परमारले कसिलो बलिङ गर्दै ३ ओभरमा मात्र ८ रन खर्चेर ३ विकेट हात पारिन् । यस्तै, अर्चना र आनादी ताग्देले समान १-१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको भारत ‘बी’ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१८ रनको विशाल योगफल तयार पारेको थियो । भारतको विस्फोटक ब्याटिङमा इश्वरी अवासाले अर्धशतकीय इनिङ खेल्दै मात्र ३७ बलमा ७५ रन प्रहार गरिन् ।
त्यस्तै, दिया यादव ले ३५ बलमा ५९ रनको अर्धशतकीय योगदान दिइन् भने अर्चनाले २२ बलमा अविजित ३८ रन जोड्दै टोलीलाई विशाल स्कोरसम्म पुऱ्याइन् ।
नेपालका बलरहरू भारतीय ब्याटरसामु महँगा साबित भए । नेपालका लागि रचना चौधरीले ४ ओभरमा ३० रन, साक्षी यादवले २ ओभरमा २५ रन र अशिका महराले ४ ओभरमा ३९ रन खर्चेर समान १-१ विकेट लिए ।
यसअघि शृङ्खलाको पहिलो भेटमा पनि नेपाल भारत ‘बी’ सँग ९ विकेटले पराजित भएको थियो।

















