काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई धूलो उपहार पठाएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कलंकीदेखि महाराजगञ्जसम्मको रिङरोड विस्तारका काम अघि नबढाएको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले एक ट्रक धूलो उपहार पठाएका हुन् ।
विगत १५ वर्षदेखि काठमाडौंका जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धूलो र कष्ट व्यहोर्नुपरेको भन्दै धूलो उपहार पठाएका हुन् ।
महानगरपालिकाको गाडीले मीनभवनस्थित सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय अगाडि एक ट्रक धुलो खन्याउँदै गरेको भिडिओ सार्वजनिक गर्दै मेयर शाहले उपहार पठाउने बताएका छन् । काठमाडौँ महानगरले अकारण गाली खाइरहनुपरेको उल्लेख गर्दै मेयर शाहले जबसम्म काम अघि बढ्दैन त्यतिबेलासम्म मन्त्री महासेठलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने घोषणा समेत गरेका छन्।
उनले सामाजिक सञ्जालमा भनेका छन्–
माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यू !
तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ वर्षदेखि काठमाडौँको जनताले कलङ्कीदेखि महाराजगन्जसम्म रिङ रोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ ।
काठमाडौँमा हुने आधा भन्दा बढी प्रदूषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलो धुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढी गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ ।
र, काठमाडौँ महानगरले अकारणमा गाली खानु परेको छ । यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन । जबसम्म तपाईँ काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईँलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्विकार्नुहोला ।

















