हैदराबादलाई हराउँदै कोलकाताले जित्यो १० वर्षपछि आईपिएलको उपाधि

Image

काठमाडौँ । सनराइजर्स हैदरावादलाई पराजित गर्दै कोलकाता नाइट राइडर्सले १० वर्षपछि इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि जितेको छ। आइतबार भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै कोलकाता च्याम्पियन बनेको हो ।

कोलकाताको यो तेस्रो आईपीएल उपाधि हो । पछिल्लो पटक कोलकाताले सन् २०१४ को फाइनलमा किंग्स पञ्जाब ११ (पञ्जाब किंग्स)लाई ३ विकेटले पराजित गर्दै दोस्रो उपाधि जितेको थियो।

त्यसभन्दा अगाडि सन् २०१२ मा चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै कोलकाताले पहिलो पटक आईपीएल उपाधि जितेको थियो। सन् २०२१ को फाइनलमा पुगेपनि टोली उपाधिबाट वञ्चित बनेको थियो ।

हैदराबादले प्रस्तुत गरेको १ सय १४ रनको सामान्य लक्ष्य कोलकाताले २ विकेटको क्षतिमा १०.३ ओभरमा पछ्यायो । कोलकाता वेंकटेश अय्यरले अविजित रहँदै सर्वाधिक ५२ रन बनाए। २६ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे।

रहमानउल्लाह गुरबाज ३९ र सुनील नारायण ६ रनमा आउट हुँदा कप्तान श्रेयस अय्यर ६ रनमा अविजित रहे। हैदरावादका प्याट कमिन्स र शाहबाज अहमदले १/१ विकेट लिए।

त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङ थालेको हैदरावादले १८.३ ओभरमा सबै विकेट गुमाउँदै ११३ रन बनाएको थियो। हैदरावादका कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन बनाए। १९ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे।

एडन मारक्रम २०, हाइनरिक क्लासन १६ र नितीशकुमार रेड्डी १३ रनमा आउट भए। आन्द्रे रसेलले सर्वाधिक ३ विकेट लिए। २.३ ओभर बलिङ गरेका उनले १९ रन खर्चिए। मिचल स्टार्क र हर्षित राणाले २/२ विकेट लिए। यस्तै, वैभव अरोडा, सुनील नारायण र वरुण चक्रवर्तीको नाममा १/१ विकेट लिए।

आइपीएल इतिहासको फाइनलमा बनेको यो नै कम योगफल हो । २०१२ र २०१४ मा च्याम्पियन भएको कोलकातालाई तेस्रो पटक च्याम्पियन हुन १० वर्ष पर्खनु परेको थियो । कोलकातालाई दुवै उपाधी जिताएका गौतम गम्भिर हाल कोलकाताको मेन्टरको भुमिकामा रहेका छन् ।

समूह चरणमा कोलकाता पहिलो र हैदराबाद दोस्रो स्थानमा रहेर प्लेअफमा पुगेका थिए । दुवै टोलीबीच यस संस्करणको यो तेस्रो भेट थियो । यसअघिका दुवै भेटमा पनि कोलकाता विजयी भएको थियो । समूह चरणको भेटमा कोलकाताले हैदराबादलाई चार रनले पराजित गरेको थियो।

पहिलो क्वालिफायरमा हैदराबादलाई नै पराजित गरेर कोलकाताले फाइनलमा स्थान बनाएको थियो । पहिलो क्वालिफायरमा हैदराबाद ८ विकेटले पराजित भएको थियो । दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गरेर हैदराबादले फाइनल यात्रा तय गरेको थियो।