काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीको शिक्षक छनोटका लागि विज्ञापन गर्न अझै केही दिन ढिला हुने भएको छ । आयोगले आन्तरिक तयारी गरिसकेको भएपनि आर्थिक अभावका कारण विज्ञापन गर्न ढिलाइ भएको जनाएको छ ।
आयोगको बार्षिक कार्यतालिका अनुसार प्राथमिक तहको विज्ञापन प्रतिशत निर्धारण कार्तिकमा र फागुनमा विज्ञापन गर्ने गरी सार्वजनिक भएको थियो । सम्पूर्ण तयारी सकेर पनि बजेट अभावका कारण विज्ञापन गर्न ढिलाइ भएको आयोग उच्च स्रोतले जानकारी दियो ।
आयोग उच्च स्रोतका अनुसार आयोगले बजेट माग गरेको छ बजेट स्वीकृत भएर आएपछि तत्काल विज्ञापन गर्ने जनाएको छ ।
आयोगले प्राथमिक तहमा ३ हजार १७९ दरबन्दी रिक्त रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जानकारी दियो । केन्द्रका अनुसार विज्ञापन हुने समय सम्म केही दरबन्दी थप हुन हुनेछन् ।
आयोगले गत चैत्त तीन गते लिएको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिएको विषयगत (सामान्य) परीक्षाको नतिजा सार्वजनिक गर्न अझै एक हप्ता लाग्ने भएको छ ।
भर्खर उत्तर पुस्तिका परीक्षण गर्न सुर गरेको हुनाले अझै नतिजा सार्वजनिक गर्न आठ दिन जति लाग्ने आयोग उच्च स्रोतले जानकारी दियो । आयोग स्रोतका अनुसार सामान्य विषयको उत्तरपुस्तिका ओएमआरबाट परीक्षण गर्ने भए पनि उत्तरपुस्तिका परीक्षण, तथा रुजु गर्न समय लाग्ने आयोगले जानकारी दियो ।
आयोगले गत पुस ८ गते माग गरेको विज्ञापनमा ४३ हजार ८८८ जनाले आवेदन दिएका छन् । कुल ४४२ (संशोधन सहित) रिक्त दरबन्दीका लागि आव्हान गरेको खुला प्रतियोगितात्मक परीक्षामा सहभागी हुनका लागि माग गरिएको दरबन्दी संख्या भन्दा ९९.२९ प्रतिशत बढीले आवेदन दिएका हुन् ।
आयोगका अनुसार प्रदेशगत रुपमा कोशीबाट १० हजार ७५९, मधेशबाट २३९१,बागमतीबाट ९१९६ लुम्बिनीबाट ५०८२, गण्डकीबाट १०२६८, कर्णालीबाट ३४४६ र सुदुरपश्चिमबाट २७४६ जनाले आवेदन दिएका छन् ।