हेटौंडा / राक्सिराङ गाउँपालिका ले “सेवा पाउने सबैको अधिकार, घरघरमा स्थानीय सरकार” भन्ने नारासहित सञ्चालन गरेको बृहत् एकीकृत घुम्ती शिविरमार्फत एकै दिन सयौं नागरिक प्रत्यक्ष लाभान्वित भएका छन्। अभियानअन्तर्गत वडा नं. १ मा सम्पन्न शिविरले सेवा प्रवाहलाई जनताको घरदैलोमै पुर्याएको छ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्ल का अनुसार तेस्रो चरणअन्तर्गत सञ्चालन गरिएको शिविरले सेवा पहुँच विस्तारमा उल्लेखनीय प्रभाव पारेको छ।
शिविरमा कृषि तथा पशुपन्छी क्षेत्रअन्तर्गत १८० जना कृषकलाई घाँसको बीउ तथा औषधि वितरण गरिएको छ भने २०० थान तरकारी मिनिकिट, २० थान टनेल प्लास्टिक, ३ थान मिनी टिलर, १० थान स्प्रे पम्प र २० थान ग्रीन नेट वितरण गरिएको जनाइएको छ। यी सामग्री कृषक समूहका सदस्यहरूलाई उपलब्ध गराइएको हो।
स्वास्थ्य सेवातर्फ २६० जनाले स्वास्थ्य परीक्षण गराएका छन् भने आयुर्वेदिक सेवाबाट २८९ जना लाभान्वित भएका छन्। साथै, सुनौलो हजार दिन लक्षित २५ जना आमाहरूलाई स्वच्छता सामग्री वितरण गरिएको छ।
शिक्षा क्षेत्रअन्तर्गत “एक विद्यालय, एक ल्यापटप” कार्यक्रममार्फत ५ वटा ल्यापटप र १ वटा प्रिन्टर विद्यालयहरूलाई हस्तान्तरण गरिएको छ। यस्तै, लघु उद्यम विकासतर्फ ५ जनालाई मौरीपालन प्रविधि हस्तान्तरण गरिएको छ भने २७ जनाले नयाँ उद्यम सञ्चालनका लागि फारम भरेका छन्। २४ जनाले उद्यमशीलतासम्बन्धी परामर्श लिएका छन्। रोजगार सेवाअन्तर्गत ५० जनाले बेरोजगार सूचीकरण फाराम भरेका छन्।
गाउँपालिका उपाध्यक्ष बनस्थम थिङ का अनुसार न्यायिक सेवा, महिला सशक्तीकरण तथा सामाजिक सचेतनासम्बन्धी कार्यक्रमहरू पनि शिविरमार्फत सञ्चालन गरिएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्देश मास्के सहित विभिन्न शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो।
यसैक्रममा १२ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ भने ११८ वर्षीया श्रीमती सेति माया पाख्रिन लाई औषधि उपचारसहित विशेष सम्मान गरिएको थियो।
गाउँपालिकाले आगामी दिनमा पनि यस्ता घुम्ती शिविरलाई निरन्तरता दिँदै स्थानीय आवश्यकता अनुसार सेवा विस्तार गर्ने जनाएको छ।
















