मकवानपुरमा अफिम जस्तो देखिने लागुऔषधसहित एक पक्राउ

Image

हेटौंडा/ मकवानपुर जिल्लामा अफिम जस्तो देखिने प्रतिबन्धित लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

मिति २०८२ साल चैत ५ गते दिउँसो करिब १४:३० बजेको समयमा इलाका प्रहरी कार्यालय मनहरी, मकवानपुरबाट खटिएको प्रहरी टोली नियमित गस्तीमा रहेको अवस्थामा मनहरी गाउँपालिका वडा नं. ७ स्थित मनकामना सामुदायिक वन क्षेत्रको रुपाचुरी–मनहरी कच्ची सडकखण्डमा शंकास्पद अवस्थामा हिँडिरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्ने व्यक्ति मनहरी गाउँपालिका वडा नं. ६ रुपाचुरी बस्ने वर्ष ३२ का देवचन्द्र घलान रहेका छन्। प्रहरीले उनलाई नियन्त्रणमा लिई विधिसम्मत रूपमा खानतलासी गर्दा उनको साथबाट अफिम जस्तो देखिने पदार्थ तीन वटा पोका बरामद गरिएको छ। ती पोका तौल गर्दा कुल ३ किलो ४७८ ग्राम रहेको प्रहरीले जनाएको छ।

बरामद गरिएको लागुऔषधसहित घलानलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि मकवानपुर जिल्ला अदालत, हेटौँडाबाट लागुऔषध सम्बन्धी कसुरमा म्याद अनुमति लिइएको छ। हाल यस सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।