काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा राख्ने भएका छन्। उनले आफ्नो पार्टीमा अहिले २१ जना रहेको बताए। पार्टीमा को-को छन् भन्नेबारे उनले खुलाएका छैनन्।
तर पार्टीको पहिलो बैठक आजै बसुन्धारामा बस्ने उनले जानकारी दिए। केन्द्रीय कार्यालय उद्घाटनलगत्तै पार्टीको बैठक बस्नेछ। उनले पार्टीमा चुनाव चिन्ह भने घन्टी प्रस्ताव गरिएको उनले जानकारी दिए। आजै पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने उनले बताए। लामिछानेले आफ्नो पार्टीलाई युवाको पार्टी बनाउने बताए। ‘म यो पार्टीलाई युवाहरूको पार्टी बनाउने छु,’ उनले भने,‘केन्द्रीय सदस्य ५० प्रतिशत युवा हुनेछन्।’
राजनीति सफा गर्न हिलोमा डुबुल्की मार्नु आएको हुँ : रवि लामिछाने
चर्चित सञ्चारकर्मी रवि लामिछानेले राजनीतिको हिलो सफा गर्न आफू हिलोमा डुबुल्की मार्न आएको बताएका छन् । मंगलबार राष्ट्रिय सभा गृहमा आफू राजनीतिमा आएको घोषणा सभामा बोल्दै उनले राजनीतिको हिलो सफा गर्न आएको उल्लेख गरेका हुन् ।
उनले भने–‘राजनीतिमा कति हिलो–मैलो छ मलाई थाहा छ । यो राजनीतिको हिलो सफा गर्न म हिलोमा डुबुल्की मार्नुपर्छ । मलाई हिलो लाग्छ तर तपाईंले म हिलोमै रहन्छु भन्ने नसोच्नुस् । हिलो सफा गरेर मात्र निस्कन्छु ।’
उनले भ्रष्टाचार मुद्दाका फाइल टकटकाएर जानका लागि सहयोग गर्न आग्रह गरे । टेलिभिजनका पर्दाबाट राजनीतिक दलका नेताहरूलाई सप्रिनुस् भन्दा पनि नसप्रिएको बताउँदै आफै राजनीतिमा आएको बताए ।
उनले आफूले जति मान्छे रोएको कसैले पनि नदेखेको बताए । उनले भने–‘मैले जति मान्छे रोएको कसैले देखेको छैन होला । मेरो कार्यालयमा हरेक दिन मान्छेहरू मलाई भेट्नुअघि मेरो २ मिनेट रुने गर्थे । मेरो कार्यालयको अर्कोपट्टी बालुवाटारमा राज्यको जिम्मेवार व्यक्तिको कार्यालयमा मान्छेको भीड लाग्दैनथ्यो ।’
उनले अस्पताल जस्तो ठाउँमा पनि सोर्स फोर्स लगाउनुपर्ने कस्तो मक्किएको ठाउँमा संरचनामा छौँ भन्दै प्रश्न गरे । उनले आफू चुनावमा जाने दिन देशको नक्सा देखाएर जाने बताए ।
उनले प्रश्न सोध्ने सजिलो काम छोडेर जवाफ दिने गाह्रो काम गर्न आएको बताउँदै आफू व्यवस्था बदल्न आएको भन्दा पनि जनताको अवस्था परिवर्तन गर्न राजनीतिमा आएको बताए । उनले हेलिकोप्टर चढेर कोही नेता जान्छ भने विद्यार्थीका लागि पुस्तक र बिरामीका लागि हेलिकोप्टरबाट त्यसरी नै औषधी पुर्याउनुपर्ने बताए ।
यो पनि : रविले घोषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी