राति १० बजेसम्म तीन निर्वाचन क्षेत्रमा कहाँ, कसको अग्रता?

Image

अहिले चितवन-२, तनहुँ-१ र बारा-२ गरी तीन वटा उपनिर्वाचन क्षेत्रको मतगणना जारी छ।

राति १० बजेसम्मको परिणाम अनुसार चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले अग्रता कायमै राखेका छन्।

पछिल्लो मतपरिणाम अनुसार लामिछाने १० हजार १३० मतसहित अगाडि छन्।

नेकपा एमालेका रामप्रसाद न्यौपाने ३ हजार ३५७ मतसहित दोस्रो र नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठ ३ हजार १६८ मतसहित तेस्रो स्थानमा छन्।

तनहुँ क्षेत्र नम्बर १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकै स्वर्णिम वाग्लेको अग्रता छ। आधा बढी मत गणना गरिसक्दा वाग्लेले फराकिलो मतान्तरलाई कायमै राखेका छन्।

वाग्ले २५ हजार १४१ मतसहित पहिलो स्थानमा छन्।

नेपाली कांग्रेसका गोविन्द भट्टराईले १४ हजार ४६२ मतसहित दोस्रो र नेकपा एमालेका सर्वेन्द्र खनाल ७ हजार ९१ मतसहित तेस्रो स्थानमा छन्।

रास्वपाका वाग्लेले सुरूआतीदेखि नै अग्रता लिएका थिए।

मतगणना अन्तिमतिर आइपुग्दा रास्पा उम्मेदवार वाग्लेको मतान्तर फराकिलो भएपछि कांग्रेस उम्मेदवार भट्टराईले हार स्वीकारेको अभिव्यक्ति आफ्नो फेसबुकमा पोखेका छन्।

उनले मतदातालाई धन्यवाद दिँदै आफूलाई अब्बल सावित गर्न नसकेको बताएका छन्।

यस्तै, बारा क्षेत्र नम्बर २ मा भने जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपेन्द्र यादवले अग्रता लिएका छन्। उनलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहाले पछ्याइरहेका छन्।

ताजा मतपरिणाम अनुसार यादवले ३ हजार ७८१ मत प्राप्त गरेका छन् भने कुशवाहाले २ हजार ९८१ मत पाएका छन्। नेकपा एमालेका पुरूषोत्तम पौडेल एक हजार ६४० मतसहित तेस्रो स्थानमा छन्।