काठमाडौं ।
उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओको बाँडफाँड शुक्रबार गरिने भएको छ । लघुवित्तको आईपीओ बैशाख ९ गते शुक्रबार विहान ८ बजे बाँडफाँट गरिने बिक्री प्रबन्धक नेपाल एसबिआई बैंकिङ्ग लिमिटेडले जानकारी दिएको छ ।
उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा अन्तिम दिन मागभन्दा १२४.५४ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार लघुवित्तको आईपीओमा २४ लाख ३१ हजार १७० जना आवेदकले २ करोड ७५ लाख ६५ हजार २३० कित्ता शेयरका लागि २ अर्ब ७५ करोड ६५ लाख २३ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् ।
लघुवित्तले चैत २५ गते, शुक्रबारदेखि चैत्र ३० गते बुधबारसम्म सर्वसाधारण लगानीकर्ताका लागि चुक्ता पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशत अर्थात् २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो ।
लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्य दरका २ लाख ३६ हजार २५० कित्ता साधारण शेयर निष्काशन गरेको थियो । जसमध्ये ०।५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता शेयर लघुवित्तका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र बाँकी २ लाख २१ हजार १५६ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याईएको छ ।
लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिने छ । १० कित्ताका दरले आईपीओ बाँडफाँट गर्दा २२ हजार ११५ जनाले मात्रै पाउने छन् । १० कित्ताका दरले बाँडफाँट गर्दा ६ कित्ता बाँकी रहन्छन् । बाँकी रहेका ६ कित्ता थप गरेर ६ जना आवेदकलाई ११ कित्ताका दरले दिईने छ । लघुवित्तको आईपीओमा आवेदन दिएका लगानीकर्ता मध्ये झण्डै २४ लाखको हात रित्तो हुने देखिन्छ ।
लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा लघुवित्तलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले लघुवित्तको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।