शपथपछि कुन सांसदले के-के भने ?

Image

काठमाडौं ।

व्यवसायीसमेत रहेका सांसदहरुले बैंकको ब्याजदर वृद्धिको कारण समस्या परेको उद्योगी व्यवसायीहरुको पक्षमा नीति बनाउने काममा लाग्ने बताएका छन् । बिहीबार शपथ ग्रहणपश्चात् संघीय संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै सांसदहरुले निजी क्षेत्रका उद्योगी व्यवसायीहरुको पक्षमा नीति नियम बनाउनको लागि काम गर्ने बताएका हुन् ।

उनीहरुले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा देखिएको समस्या तथा बैंकको उच्च ब्याजदर वृद्धिको कारण समस्यामा परेका उद्योगीहरुलाई राहत दिनेगरी काम गर्ने बताए ।

नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बैंकिङ तरलता अभाव, पुँजीगत खर्च ३५ प्रतिशतभन्दा कम हुने, कर्मचारीहरुलाई तलब ऋण गरेर खुवाउनुपर्ने अवस्था रहेकाले अर्थतन्त्र समस्यामा रहेको बताए । उनले बैंकिङ ब्याजदर उच्च भएकाले उद्योग व्यवसाय नै चल्न नसक्ने अवस्था रहेको बताए ।

पछिल्लो समय महिनामा ६० हजार नेपाली युवा नेपाल छाडेर विदेश जाने क्रममालाई रोक्ने काममा लाग्ने उनले बताए । पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्याहरु सरकारले तत्काल समाधान गर्न नसके अर्थतन्त्रले धान्न नसक्ने अवस्था आउने चौधरीले बताए । उनले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने प्रमुख प्राथमिकतामा राखेर आगामी सरकारले ठोस निर्णय प्रक्रियामा काम गर्नुपर्ने धारणा राखे ।

“एक खर्बभन्दा बढी वार्षिक धान्न नसक्ने खर्चलगायत समस्याहरु रहेका छन् । यी समस्याहरु तत्काल समाधान गर्न सकिएन भने देशको अर्थतन्त्रले धान्न सक्दैन,” उनले भने, “त्यो समस्या समाधान गर्ने प्रतिनिधि पात्र म पनि हो । ती प्राथमिकतालाई केन्द्रबिन्दुमा राखेर आगामी आउने सरकारले सम्पूर्ण काममा लाग्नुपर्छ ।”

त्यस्तै, व्यवसायीसमेत रहेका नेकपा (एमाले)का सांसद देवीप्रसाद भट्टचनले मुलुकको आर्थिक उन्नति र निजी क्षेत्रको हितका लागि काम गर्ने बताए । भने, “प्रतिनिधिसभा सदस्य पदको शपथ ग्रहणपश्चात् संसद्मा प्रवेश गर्ने ढोका खुलेको छ । मुलुकको आर्थिक उन्नति र निजी क्षेत्रको हितका लागि काम गर्नेछु ।”

मेडिकल व्यवसायीसमेत रहेका कांग्रेसका सांसद सुनिलकुमार शर्माले निजी क्षेत्रका व्यवसायीहरुको पक्षमा सांसदले गर्नसक्ने नीति निर्माणको काम गर्ने बताए । कानुन निर्माण गर्दा व्यापारीहरुको पक्ष र राज्यको पक्षमा पहल गर्ने बताउँदै उनले आगामी पाँच वर्षमा सबैभन्दा पहिलो प्राथमिकता पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज स्थापना गर्ने रहने बताए ।

“निजी क्षेत्रका व्यवसायीहरुको पक्षमा सांसदले गर्नसक्ने नीति निर्माणको क्रममा गर्नसक्ने काम गर्नेछु । कानुन निर्माण गर्दा व्यापारीहरुको पक्ष र राज्यको पक्षमा के गर्न सकिन्छ, त्यो विषयमा पहल गर्छु,” उनले भने, “मेरो पहिलो प्राथमिकता पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज स्थापना गराउनु छ । निर्वाचन क्षेत्रको विकास निर्माण र देश निर्माणको सवालमा लाग्छु ।”

त्यस्तै, सेयर लगानीकर्तासमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले निजी क्षेत्रका सबै क्षेत्रको विकासको लागि बनाउनुपर्ने नीतिका लागि काम गर्ने बताए । उनले सेयर बजारको बिस्तार, विकासको लागि नियमन निकायहरुले बनाउन नसकेका नीतिगत व्यवस्थाहरु बनाउन पहल गर्ने बताए ।

“मैले एउटा मात्रै क्षेत्र हेरेर हुँदैन, सबै क्षेत्रको विकासको लागि बनाउनुपर्ने नीतिका लागि काम गर्ने हो,” उनले भने, “निजी क्षेत्रमा रहेका समस्याहरु समाधानका लागि बनाउन बाँकी नीति नियमहरु बनाउन लाग्नेछु ।”

अर्का व्यवसायी तथा जनता समाजवादी पार्टीका सांसद वीरेन्द्र महतोले उच्चरुपमा वृद्धि भएको बैंकिङ ब्याजदरको विषयमा सदनका कुरा उठाउने बताए । बैंकमा महँगो ब्याजदरको कारण व्यापारीहरुलाई असर परेको बताउँदै उनले संसद्बाट ब्याजदर कम गरेर व्यवसायीहरुलाई राहत दिने काम गर्ने बताए ।

“अहिले विश्वव्यापी रुपमा नै अर्थतन्त्रमा असर परेको छ । पछिल्लो समय नेपालमा बैंकमा महँगो ब्याजदरको कारण व्यापारीहरुलाई असर परेको छ,” उनले भने, “त्यो विषयमा सदनमा कुरा उठाउँछौँ । बैंकको ब्यादर कम गरेर व्यवसायीहरुलाई सहयोग गरेर राहत दिन्छु ।”