काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आधा-आधा कार्यकाल सरकार चलाउने सहमति गरेका छन्।
पहिलो अढाई वर्ष प्रचण्ड र दोस्रो अढाई वर्ष ओली प्रधानमन्त्री हुने सहमति उनीहरूबीच भएको हो। सात दलको उपस्थितिमा दुई दलका अध्यक्षले कार्यकालबारे भद्र सहमति गरेका हुन्। उनीहरूले लिखित रूपमा भने सहमति गरेका छैनन्।
कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रचण्डले पहिलो कार्यकाल आफूलाई दिन बारम्बार आग्रह गर्दै आएका थिए। देउवाले अस्वीकार गरेपछि उनी आइतबार दिउँसो बालकोट पुगेर ओलीसँग सहमति गरेका हुन्।
आइतबार बालुवाटारको बैठक सकारात्मक नभएपछि प्रचण्ड गठबन्धनको औचित्य समाप्त भएको भन्दै बाहिरिएका थिए। यसैबीच ७ दलको समर्थन जुटाएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राष्ट्रपति निवास शितल निवास पुगेका छ्न्। साथमा नेकपा एमालेसहित दलका नेताहरू पनि शितल निवास पुगेका छन्।
प्रचण्डलाई एमाले, माओवादी, रास्वपा, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जसपा, जनमत पार्टीले समर्थन गरेका हुन्। यी सबै दलबाट गरी प्रतिनिधि सभामा १६६ जना सांसद छन्। सरकार गठनका लागि १३८ जना सांसदको समर्थन भए बहुमत पुग्छ।
प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपतिले संविधानको धारा ७६ को २ अनुसार दलहरूलाई दिएको एक साताको समय आज अपरान्ह ५ बजे सकिँदैछ।
राष्ट्रपति एमालेलाई, प्रधानमन्त्री र सभामुखमा आलोपालो :
नेकपा एमाले र माओवादी केन्द्रबीच प्रमुख पद बाँडफाँटबारे सैद्धान्तिक सहमति जुटेको छ । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छाडेसँगै पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउन एमाले सहमत भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको वार्तामा प्रमुख दल बाँडफाँटबारे समेत सैद्धान्तिक सहमति जुटेको छ ।
स्रोतका अनुसार राष्ट्रपति एमालेले लिनेछ । प्रधानमन्त्री र सभामुखमा आलोपालोको सहमति भएको छ । यो सहमतिअनुसार सुरुमा प्रचण्ड प्रधानमन्त्री हुने भएकाले एमालेले सभामुख पनि लिनेछ । जब एमालेले प्रधानमन्त्री लिनेछ, सभामुख पनि फेरिनेछ । माओवादीले सभामुख पाउने छ ।
एमाले, माओवादी मिलेसँगै ५ प्रदेशमा पनि उनीहरुको सरकार बन्नेछ । जनमत पार्टी र नागरिक उन्मुक्ति पनि थपिँदा सातै प्रदेशसमा यो गठबन्धनको सरकार बन्नेछ । केन्द्र र प्रदेश सरकारका मन्त्री र मुख्यमन्त्री लगायतका पद बाँडफाँटमा भोलि सम्वाद हुने एक नेता बताउँछन् ।