Khabar Board
Flash logo up side
Nirbachan aayog

यस्तो रह्यो प्रचण्डको बालुवाटारदेखि बालकोट हुँदै प्रधानमन्त्री यात्रा

Nirbachan m

काठमाडौं ।

शेरबहादुर देउवा नेतृत्वको सत्ता गठबन्धन तोडेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ४४ औं प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई सरकार बनाउन दिएको समयको अन्तिम दिन आइतबार बिहान ९ बजे बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्यो।

बैठकमा तीन प्रमुख दलले सत्ता नेतृत्वको भागबण्डामा आलोपालो सरकारको नेतृत्व गर्ने मौखिक सहमति गरे पनि पहिलो कार्यकाल कांग्रेसले छाड्न नमान्दा सहमति जुट्न सकेन। सत्ता गठबन्धनमा रहेका कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चाका शीर्ष नेता बसेर छलफललाई निष्कर्षमा पुर्‍याउने प्रयास जारी राखे।

तर प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि हालतमा प्रचण्डलाई पहिले प्रधानमन्त्री दिन नमानेपछि प्रचण्ड, माधव नेपाल र देउवा तीन जना बसेर करिब २ घन्टा छुट्टै छलफल गरे। शनिबारको बैठकमा २ वर्ष कांग्रेस, २ वर्ष माओवादी केन्द्र र १ वर्ष नेकपा (एकीकृत समाजवादी) ले सरकारको नेतृत्व गर्ने सम्झौता भएको थियो। यसमा माओवादी केन्द्र र कांग्रेस दुबैले पहिले सरकारको नेतृत्व गर्ने अडान राखे।

तीन नेताबीच भएको छलफलमा पनि देउवाले पार्टीको अडान भन्दै राष्ट्रपति र पहिलो चरणमा प्रधानमन्त्री पद छोड्न नसकिने आफ्नो अडान कायमै राखे। ठूलो दलको आडमा देउवाको अडान र जसरी पनि पहिलो चरणमा प्रधानमन्त्री बन्नैपर्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको चाहना भएपछि करिब ९ बजे बालुवाटार छिरेका प्रचण्ड दिउँसो १ बजे कुरा नमिल्ने भएपछि बाहिरिए।

प्रचण्ड बाहिरिएपछि सरकारका प्रवक्ता एवं सञ्चार प्रविधि तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले फेरि गठबनधनको बैठक बस्ने बताए। ‘गठबन्धन मुलुकको आवश्यकता हो। यहीँ गठबन्धनलाई निरन्तरता दिन प्रधानमन्त्रीले चाहनुभएको छ,’ उनले भने, ‘आज फेरि गठबन्धनको बैठक बस्छ।’

विगतको भद्र सहमति पालनामा कांग्रेस सभापति देउवा सकारात्मक नदेखिएपछि प्रचण्ड बाहिरिएको बैठकमा सहभागी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताए।

बैठकमा समाजवादीका अध्यक्ष नेपालले राष्ट्रपतिलाई सरकार गठनको समय थप गर्न प्रधानमन्त्रीलाई आग्रह गर्न पनि सुझाएका थिए। त्यसमा पनि देउवा सकारात्मक देखिएनन्। ‘राष्ट्रपतिले दिएको समय सकिन लागेको छ समय थपौं भन्दा पनि देउवाले आलस्यता देखाउनुभयो,’ नेपालले भने।

बैठकमा दुई नेताबीच कुरा नमिलेपछि एकीकृत समाजवादीले पहिलो कार्यकाल आफूलाई दिन समेत प्रस्तावसमेत गरेको थियो। ‘तपाइँहरू नमिल्ने हो भने २ – २- १ को सहमति पालना गर्दा पहिलो कार्यकाल हामीलाईनै दिनोस् भन्ने ढंगले पनि कुरा भए,’ नेपालले भने, ‘तर कुनै पनि विकल्पमा देउवा तयार हुनुभएन।’

गठबन्धन जोगाएर राष्ट्रपति बन्ने आकांक्षा राखेका कांग्रेस नेता रामचन्द्र पौडेलले भने बालुवाटारबाट दाहाल बाहिरिएपछि देउवानै इमान्दार नभएको र प्रचण्डलाई धोका दिँदा यो अवस्था सिर्जना भएको प्रतिक्रिया दिए। ‘प्रचण्डले धोका दिएको भन्ने पक्षमा म छैन, प्रचण्डलाई धोका भयो,’ उनले भने।

नेता पौडेलले शनिबार खुमलटार पुगेर प्रचण्डलाई भेट गरेका थिए। उक्त भेटमा उनले गठबन्धन नभत्काउन प्रचण्डलाई आग्रह गरेका थिए। गठबन्धन बचाउनका लागि कांग्रेसले राष्ट्रपति लिएर आफूलाई पहिलो कार्यकाल प्रधानमन्त्री दिन भनेका थिए। ‘शान्ति प्रक्रिया पनि भूमिका निर्वाह गरेको व्यक्तित्व तपाईं राष्ट्रपति भएर म प्रधानमन्त्री हुँदा मलाई पनि गौरव महशुस हुन्छ,’ पौडेललाई प्रचण्डको प्रस्ताव थियो।

नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनको बैठकमा कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफललाई अगाडि बढाउने निर्णयमा ‘प्रचण्ड’ पुगे। बालुवाटारबाट निस्केका प्रचण्ड खुमलटार भएर वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव वर्षमान पुनसहित दिउँसो २ बजे बालकोट पुगे।

प्रचण्डको टोली बालकोट पुग्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जसपा नेता अशोक राई अगाडि देखिनै केपी ओलीसँग छलफलमा थिए। त्यसअघि नै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन झापाबाट सोझै बालकोट गएर ओलीलाई भेटेका थिए।

प्रधानमन्त्रीका लागि प्रस्ताव बुझाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको आइतबार ५ बजेको समय पुग्न ३ घण्टामात्रै बाँकी रहँदा कांग्रेस, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीबाहेक संसदमा प्रतिनिधित्व गर्ने ७ दल एक भएर छलफलमा जुटे।

दिउँसो ३:१५ बजे प्रचण्डलाई पहिले प्रधानमन्त्री बनाउन ७ दलका १६६ सांसदले समर्थन गरे। प्रचण्डलाई एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय सवतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमत पार्टीको ६, नागरिक उन्मुक्ति पार्टीका ४ जना सांसदले समर्थन जनाए। त्यसमा स्वतन्त्र निर्वाचित प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहले पनि प्रचण्डलाई साथ दिए।

बालकोटको बैठकमै पहिलो साढे २ वर्ष प्रचण्ड र अर्को साढे २ वर्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने भद्र सहमति भयो। सहमतिपछि सांसदको हस्ताक्षर संकलनको पत्र तयार पारियो। सहमति बनेसँगै एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बार्दलीमा निस्किएर हात हल्लाए। २०७७ पुस १० गते तत्कालीन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीको कदमविरूद्ध उभिएका दाहाल २०७९ पुस १० गते एकै ठाउँमा भेला भए।

त्यसपछि एमाले महासचिव शंकर पोखरेलले राष्ट्रको आवश्यकताले माओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउन एमाले अघि सरेको बताए। उनले सरकार गठनपछि अरू विषयमा छलफल गर्ने बताए।

त्यसपछि हस्ताक्षर तयार भएको पत्र बोकेर ७ दलका प्रतिनिधि र तीन जना स्वतन्त्र सांसदसहित ४:४५ बजे प्रचण्ड शितल निवास पुगे। प्रचण्डले राष्ट्रपतिसमक्ष संविधानको धारा ७६ को २ अनुसार १६९ जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरे। त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले साँझ ६:२५ बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मुलुकको ४४ औं प्रधानमन्त्री नियुक्त गरिन्।

२०६५ साउनदेखि २०६६ वैशाख २१ गतेसम्म र २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म प्रधानमन्त्री बनेका प्रचण्डले तेस्रो पटक सरकारको नेतृत्व गर्न लागेका हुन्। सोमबार दिउँसो ४ बजे प्रधानमन्त्रीको रूपमा दाहालले पद तथा गोपनियताको सपथ लिनेछन्।

८९ सांसद रहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले मुखैमा आएको सत्ता गुमाएर केन्द्रदेखि सातै प्रदेशमा प्रतिपक्षमा बस्नुपर्ने अवस्था सिर्जना भयो। नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि प्रतिपक्षमा बस्ने सम्भावना छ। बालुवाटारमा गठबन्धन तोडेर निस्किएका प्रचण्ड स्पष्ट बहुमतसहित सरकारको नेतृत्व गर्दै बालुवाटार छिर्नेछन्।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.