Khabar Board
Flash logo up side
flash header

यस्तो रह्यो प्रचण्डको राजनीतिक यात्रा, तेस्रो पटक दौरा सुरूवालमा लिए शपथ

Nirbachan m

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका रुपमा तेस्रो पटक सपथ ग्रहण गरेका छन्। सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिएर उनले आफ्नो तेस्रो कार्यकाल प्रारम्भ गरेका हुन्। उनले देश र जनताको नाममा सपथ लिएका हुन्।

प्रचण्डपछि थप सात मन्त्रीले पनि सपथ लिएका छन्। विष्णु पौडेलले उपप्रधान तथा अर्थ, नारायणकाजी श्रेष्ठले उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात, रवि लामिछाने उपप्रधान तथा गृह मन्त्रीका रुपमा सपथ लिएका छन्। ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानको मन्त्रालय पछि तोकिने छ। उनीहरुलाई पनि राष्ट्रपति भण्डारीले सपथ खुवाएकी हुन्।

प्रचण्डको तेस्रो कार्यकाल

प्रचण्ड २०६५ साउनमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए। २०६४ चैतमा सम्पन्न पहिलो संविधान सभाको निर्वाचनबाट तत्कालीन नेकपा माओवादी सबैभन्दा ठूलो दल भएपछि प्रचण्डले एमालेको मुख्य साथ लिएर सरकार निर्माण गरेका थिए।

प्रचण्ड नेतृत्वको पहिलो सरकार लामो समय टिकेन। तत्कालीन प्रधान सेनापति रुकमांगद कटुवाललाई हटाउने निर्णय विवादमा परेपछि उनले राजीनामा दिएका थिए। मन्त्रिपरिषद्‌ले कटवाललाई हटाउने निर्णय गरे पनि तत्कालीन राष्ट्रपति रामवरण यादवले मध्यरातमा थमौती गरिदिएपछि प्रचण्डले द्वैधसत्ताको स्थिति उत्पन्न भएको भन्दै राजीनामा दिएका थिए।

२०७० मंसिरमा सम्पन्न दोस्रो संविधान सभा निर्वाचनमा तत्कालीन एकीकृत नेकपा माओवादी तेस्रो ठूलो शक्ति भयो। २०७२ मा संविधान जारी भएपछि एमाले र एमाओवादी मिलेर एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार पनि बनाए। तर, २०७३ साउनमा प्रचण्डले ओलीलाई प्रस्थापन गरेका थिए।

दोस्रो कार्यकालमा प्रचण्डले कांग्रेसको साथ लिएका थिए। २०७३ साउनदेखि २०७४ जेठसम्म उनको कार्यकाल रह्यो। सरकार गठनकै बेलामा प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग आलोपालो प्रधानमन्त्री बन्ने सहमति गरेका थिए। सोही अनुसार २०७४ जेठमा उनले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए।

तेस्रो कार्यकालका लागि पनि प्रचण्डले एमालेको प्रमुख साथ लिएका छन्। एमाले र माओवादी केन्द्रका अतिरिक्त अन्य पाँच दल र तीन स्वतन्त्र सांसदले पनि प्रचण्डलाई समर्थन गरेका छन्। एमाले र माओवादीबीच मुख्यगरी आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको ती दलका नेताहरुले बताएका छन्। सहमति अनुसार, राष्ट्रपति र सभामुख एमालेले पाउनेछ। सभामुख भने प्रधानमन्त्री जस्तै बीचमा फेरिनेछ।

प्रतिद्वन्द्वी दल एमालेको प्रमुख साथ र अन्य साना दलको साथ लिएको हुनाले प्रचण्डको सत्तायात्रा कतिञ्जेल जान्छ भन्ने निश्चित भने छैन। किनकि विग्रह, आरोपप्रत्यारोप र अस्थिरता नेपाली राजनीतिको स्थायी चरित्र रहँदै आएको छ।

Center article

प्रचण्डको राजनीतिक यात्रा

२०२८ मा नेकपाका विभिन्न समूहमध्ये पुष्पलाल समूहको सदस्यता लिएर प्रचण्डले राजनीतिक जीवन आरम्भ गरेका थिए। प्रचण्डले रामबहादुर थापा बादल लगायतसँग मिलेर २०३१ मा मार्क्सवादी अध्ययन समूह गठन गरेका थिए। २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालिन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भएका थिए।

प्रचण्ड २०३८ मा क्षेत्रीय ब्युरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महा-सचिव भए। २०४० मा सोही संघको केन्द्रीय अध्यक्षमा निर्वाचित भए।

उनी २०४१ मा नेकपा (मशाल)को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए। २०४२ मा पोलिटब्युरो सदस्य भए। बहुचर्चित सेक्टर काण्डपछि उनी २०४६ मा सोही पार्टीको प्रमुख पद महामन्त्री बने।

२०४८ मा कम्युनिस्ट पार्टीहरुको एकता प्रारम्भ गर्नका लागि गठित एकताकेन्द्रको महामन्त्री भए। २०५१ सालमा तत्कालीन एकताकेन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा माओवादी राखियो। प्रचण्ड नेतृत्वको सोही पार्टीको नेतृत्वमा २०५१ फागुन १ देखि जनयुद्ध सुरु गर्योे।

२०५७ सालमा नेकपा माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनबाट उनी पार्टी अध्यक्ष भए। २०५८ मा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर भए। जनआन्दोलन २०६२/६३ पछि माओवादी जनयुद्धको विश्राम सुरु भयो। त्यसैअनुसार, २०३८ देखिको भूमिगत राजनीति त्याग्दै २०६३ असार २ गते बालुवाटारमा सार्वजनिक भए।

प्रचण्ड २०६९ मा हेटौंडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित भए। २०७० मा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनःअध्यक्ष पदमा निर्वाचित भए। २०७८ मा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट उनी पुनः अध्यक्ष निर्वाचित भए।

प्रचण्ड २०६४ मा काठमाडौं-१० र रोल्पा-२, २०७० मा सिरहा- ५, २०७४ मा चितवन-३ र २०७९ मा गोरखा- २ बाट संविधान सभा सदस्य/सांसदमा निर्वाचित भएका थिए। २०७० मा काठमाडौं- १० बाट पराजित भएका थिए।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.