काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछानेले पहिलो अवसरमा नै उपप्रधान तथा गृहमन्त्री पाएर राजनीतिक छलाङ मारेका छन् । त्यसो त उनले राजनीतिक दल खोलेको ६ महिनाभित्रै प्रतिनिधिसभामा २० सिट जितेर चौथो ठूलो दल बन्न सफल भएका थिए ।
त्यो पनि लामिछानेको राजनीतिक छलाङ नै थियो । उनले एकपछि अर्को छलाङ मार्न सफल भएका हुन् । एमाले माओवादीको नयाँ सत्ता गठबन्धनमा सहभागी भएका राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष लामिछानेले जब सोमबार मन्त्रिपरिषद् गठन हँदा उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारी पाए तब आमसर्वसाधारण चकितजस्तै भए ।
कतिपयले त यसलाई फिल्मसँग नै तुलना गरे । रवि उपप्रधान तथा गृहमन्त्री हुँदा ३ घण्टाको फिल्मको कथा हेरेजस्तै अनुभूति गरे धेरै सर्वसाधारणले । उनी शितलनिवासमा गृहमन्त्रीको शपथ लिएर सिंहदरबारमा जाँदा गृह मन्त्रालयमा छुटै माहोल सिर्जना भएको थियो । गृह प्रशासन अर्लटजस्तै देखिएको थियो । शपथ सकेर मन्त्रालयमा पदवहाली गरेपछि उनले गरेको पहिलो निर्णय पनि चुनौतीपूर्ण नै देखिएको छ ।
गृहमन्त्री लामिछानेले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय दिन आवश्यक पहल गर्ने निर्णय गरे । शपथ ग्रहणपछि कार्यभार सम्हालेपछि उनले आफ्नो पहिलो निर्णयका रूपमा निर्मला पन्तलाई न्याय दिनका लागि पहल गर्ने निर्णय गरेको बताए ।
टीभी प्रस्तोता छाडेर ६ महिनामै उपप्रधान तथा गृहमन्त्री
तत्कालीन टेलिभिजन प्रस्ताेता (हाल उपप्रधान तथा गृहमन्त्री) रवि लामिछानले आफ्ना पूर्वसहकर्मी पत्रकार शालिकराम पुडासैनीकाे आत्महत्या दुरुत्साहन मुद्दामा १० दिन हिरासतमा बसेर ५ लाख धराैटीमा छुटेपछि १० भदाै २०७६ मा चितवनमा आयाेजित पत्रकार सम्मेलनमै राजनीतिमा आउने संकेत दिएका थिए ।
आफ्नाे समर्थनमा चितवनमा उर्लिएकाे जनसागर देखेपछि हाैसिएका रविले पत्रकार सम्मेलनमा पहिलाे प्राथमिकता पत्रकारिता नै भए पनि राजनीतिको विकल्पकाे ढाेकामा ताला नलगाएकाे बताएका थिए ।
‘राजनीतिमा आउने सम्भावनाको ढोकामा चुकुलमात्र लागेको छ, ताल्चा लागेको छैन’, लामिछानेले यसाे भनेपछि धेरैले उनी तत्कालै राजनीतिमा छिर्ने लख काटेका थिए । चितवन जिल्ला अदालतबाट आत्महत्या दुरुत्साहन मुद्दामा सफाइ पाएपछि रविले टेलिभिजन पत्रकारितामै समय दिए ।
यद्पि राजनीतिमा आउने हुटहुटी भने उनमा बढ्दै गयाे । टेलिभिजन कार्यक्रमबाटै नेता छान्ने भन्दै रविले ‘द लिडर’ कार्यक्रम ल्याउने घाेषणा गरे । हजाराैँ युवाहरूले ‘द लिडर’ कार्यक्रमका लागि आवेदन भरे । तर, लगत्तै विश्वव्यापी रूपमा फैलिएकाे काेराेना संक्रमणले नेपालमा पनि लकडाउन सुरु भएपछि रविकाे नेता छान्ने ‘द लिडर’ कार्यक्रम अलपत्र पर्याे ।
याे बीचमा उनले २३ पुष २०७७ मा न्युज २४ टेलिभिजनबाट राजीनामा दिए र आफूसहितकाे लगानीमा नयाँ टेलिभिजन ग्लालेस्की फाेके जन्माए । ग्यालेक्सी फाेकेमा पनि उनले न्युज २४ टेलिभिजनकाे ‘सिधा कुरा जनतासँग’ जस्तै ‘सिधा कुरा’ कार्यक्रम सञ्चालन गर्न थाले । जनताकाे जनजीविकाका मुद्दा प्राथमिकतामा राखेर टेलिभिजन कार्यक्रम चलाइरहेका रविकाे लाेकप्रियता अझ चुलिँदै गएकाे थियाे ।
अकस्मात् उनले बडाे तामझामका साथ कराेडाैँ लगानी गरेर जन्माएकाे ग्लालेक्सी फाेके टेलिभिजनबाट राजीनामा दिए । १ असार २०७९ मा ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएका उनले अब राजनीतिमा आउने घाेषणा गरे । रविकाे याे घाेषणासँगै उनी अब कुनै पार्टीमा प्रवेश गर्छन् या स्वतन्त्र चुनाव लड्छन् भनेर अनेकन अनुमानसहितका टिकाटिप्पणी भए । कसैले उनलाई कांग्रेस प्रवेश गर्न लागेकाे भनेर हल्ला पिटे भने कतिपयले नेताहरूसँगकाे पारिवारिक सम्बन्धका कारण राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्ने दाबी गरे । पत्रकारहरूकाे प्रश्नले घेरिएका रविले भने ७ असारसम्म प्रतिक्षा गरिदिन आग्रह गरे ।
७ असारमा काठमाडाैंकाे राष्ट्रिय सभागृहमा आयाेजित समाराेहमा रविले आम काैतुहल मेटाउँदै नयाँ पार्टीलाई जन्म दिए । घण्टी चुनाव चिह्नसहित राष्ट्रिय स्वतन्त्र पार्टीकाे घाेषणा गरे । नयाँ पार्टी घाेषणा लगत्तै रवि देशदाैडाहमा लागे । प्रदेशकाे चुनावमा भाग नलिने घाेषणा गरेका उनले छाेटाे समयमै देशभर संगठन निर्माण गरे ।
प्रतिनिधिसभाकाे चुनावका लागि उम्मेदवार छान्न उनले अनलाइन आवेदन मागे । ४ मंसिरकाे चुनावअघि लामिछाने नेतृत्वकाे पार्टीले कति सिट ल्याऊला भन्नेमा जनचासाे निकै बढेकाे थियाे । ठूला पार्टीका ठूला नेताहरू टेलिभिजनमा कराएजस्ताे राजनीति सजिलाे नहुने भन्दै रविलाई गिज्याइरहन्थे । तर उनी भने चुनावपछि आफ्नाे पार्टीले पाएका सफलताबारे मिडियामा तरह तरहले विश्लेषण हुनेमा ढुक्क थिए ।
४ मंसिरकाे चुनाव सकियाे । रविले पार्टी गठन गरेकाे पाँच महिनामै भाग लिएकाे आम निर्वाचनमा प्रत्यक्षतर्फ सात र समानुपातिकमा १३ गरी २० सिट जितेर राष्ट्रिय स्वतन्त्र पार्टीले ऐतिहासिक सफलता हासिल गर्याे । रवि नेतृत्वकाे पार्टीकाे याे सफलतालाई कांग्रेस, एमाले र माओवादीलगायत ठूला पार्टीप्रतिकाे वितृष्णाकाे उपज धेरैले ठानेका छन् ।
टेलिभिजनमा कार्यक्रम चलाएर लाेकप्रिय भएकाे एक युवाले त्यही लाेकप्रियताकाे जगमा जन्मेकाे राजनीतिक पार्टीलाई छाेटाे समयमै असाधारण सफलता मात्रै दिलाएकाे छैन, राजनीतिमा लागेकाे सात महिनानबित्दै मुलुककाे उपप्रधानसहित गृहमन्त्री बनेर धेरैलाई चकित तुल्याएकाे छ । माओवादी अध्यक्ष पुषपकमल दाहाल प्रचण्डकाे नेतृत्वकाे नवगठित सरकारमा रविले साेमबार उपप्रधानसहित गृहमन्त्रीकाे शपथ लिएका छन् ।
अझ राेचक त के भने रविले चितवनबाट चुनाव लड्ने तयारी गरेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवन ३ बाट विस्थापित भएर गाेरखामा चुनाव लड्न पुगेकाे बताइन्छ । प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालगायतका वृद्ध नेताहरूलाई अब विश्राम दिनुपर्ने अभियान रविकाे टिमले सामाजिक सञ्जालमा छेडेकाे थियाे । ‘नाे नट अगेन’ नाम दिइएकाे याे अभियानले राजनीतिमा तरंग फैलाएकाे थियाे ।
हुन त रविले नाे नट अगेन भनेर जसलाई विस्थापित गर्ने खाेजेकाे थिए उसकै नेतृत्वकाे सरकारमा सहभागी भएकाे भन्दै उनकाे आलाेचना भइरहेकाे छ । यति मात्रै हाेइन, नागरिकता प्रकरणमा आफूमाथि छानबिन चलिरहेकै बेला गृहमन्त्री बनेका रविले स्वार्थपूर्ति गर्ने खाेजेकाे भनेर पनि उनकाे आलाेचना भइरहेकाे छ । यद्पि रविले भने प्रहरी प्रशासनलाई आफूविरुद्धकाे नागरिकता मुद्दाकाे स्वतन्त्र ढंगले छानबिन गर्न दिने घाेषणा पदभार ग्रहणलगत्तै गरेका छन् ।
रविकाे लाेभलाग्दाे सत्ताराेहणसँगै अब उनले हिजाे टेलिभिजन कार्यक्रममार्फत उठाएका प्रश्नहरूकाे जवाफ दिने चुनाैती छ । प्रश्न गर्ने ठाउँबाट जवाफ दिने ठाउँमा पुगेका रविले अब कसरी आफूलाई अब्बल प्रमाणित गर्नेछन् त्याे भने आगामी दिनमा उनले दिने नतिजाले बताऊला । आम मानिसहरूमा भने रवि गृहमन्त्री भएसँगै अब बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तले न्याय पाउने आशा फेरि मुर्झाएकाे छ ।