Khabar Board
Flash logo up side
flash header

प्रतिनिधिसभामा रास्वपाको सांसद संख्या २१ पुग्यो

Nirbachan m

काठमाडौँ — उपनिर्वाचनमा तनहुँ-१ बाट स्वर्णिम वाग्लेको विजयसँगै प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको एक सिट बढेको छ । अब रास्वपाका २१ सांसद हुनेछन् ।

पार्टी गठनको पाँच महिनामै आम निर्वाचनमा सहभागी भएको रास्वपाले गत मंसिर ४ को निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ गरी प्रतिनिधिसभामा २० सिट जितेको थियो । रविको सांसद पद खारेज भएपछि रास्वपाको १९ सिट थियो । उपनिर्वाचनमा चितवन-२ र तनहुँ-१ बाट वाग्लेले जितेपछि २१ सिट भएको हो । बारा-२ मा भने रास्वपाका रमेश खरेल प्रतिस्पर्धामा धेरैपछि रहेकाले अब जित्ने सम्भावना छैन ।

रवि लामिछानेले गत साउन पहिलो साता आफ्नो नेतृत्वमा पार्टी घोषणा गरेका थिए । प्रतिनिधिसभा सदस्यका लागि वैशाख १० मा भएको उपनिर्वाचनबाट लामिछाने स्वयं त सांसद बनेर फर्किएका छन् । अमेरिकी नागरिकता लिएर त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरेकाले सांसद बन्न रवि लामिछाने अयोग्य हुने सर्वोच्चले फैसला गरेपछि चितवन २ मा उपनिर्वाचन भएको हो । जहाँ लामिछानेले करिब ६९ भन्दा बढी प्रतिशत मतसहित विजयी भए । उनी ५४ हजार १७६ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धीहरू कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत ल्याए भने एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याएका छन् । चितवन २ को उपनिर्वाचनमा कुल ७८ हजार २७७ मत खसेको थियो ।

रास्वपाले थपे सांसद तनहुँ १ मा वाग्लेले ३४ हजार ९ सय १८ मत ल्याएर विजयी भएका छन् । कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरे भने एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गरे ।

बारा २ मा भएको उपनिर्वाचनमा भने रास्वपाका उम्मेदवार यो समाचार तयार पार्दासम्मको मतगणनाअनुसार चौथो स्थानमा छन् । यहाँ जसपाका अध्यक्षसमेत रहेका उम्मेदवार उपेन्द्र यादवले १३ हजार ८ सय ४ मत ल्याएर अग्रता लिइरहेका छन् । उनलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई ९ हजार २ सय ३१ मत ल्याएर पछ्याइरहेका छन् । एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल बारा २ मा तेस्रो स्थानमा छन् । उनले ४ हजार ५ सय ७७ मत ल्याएका छन् ।

Center article

प्रतिनिधिसमाको गत मंसिर ४ को निर्वाचनबाट रास्वपाले ७ स्थानमा प्रत्यक्ष जितेको थियो । सर्वोच्चले लामिछाने सांसद बन्न अयोग्य हुने फैसला गरेसँगै रास्वपाका प्रत्यक्ष निर्वाचित सांसदको संख्या ६ मा झरेको थियो । रास्वपाका गणेश पराजुली, तोसिमा कार्की, विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोविता गौतम र हरि ढकालले प्रत्यक्ष निर्वाचन प्रणालीबाट जितेर सांसद छन् ।

रास्वपाले १३ सांसद समानुपातिक निर्वाचन प्रणालीबाट जितेको थियो । जसमा अशोककुमार चौधरी, असिम शाह, चन्दा कार्की, डोलप्रसाद अर्याल, ढाकाकुमार श्रेष्ठ, निशा डाँगी, विनिता कठायत, मनिष झा, लक्ष्मी तिवारी, शिव नेपाली, सन्तोष परियार र सुमना श्रेष्ठ छन् ।

रास्वपाले सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीबाट कारबाही गरेर उक्त ठाउँमा बिन्दाबासिनी कंशाकारलाई सिफारिस गरेको छ । श्रेष्ठले मन्त्री बन्नका लागि पार्टीको कोर टिमले साढे २ करोड रुपैयाँ मागेको र त्यसको व्यवस्थापन गर्नुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग गरेको कुराकानी सार्वजनिक भएको थियो । श्रेष्ठ समानुपातिक सांसद भएकाले उनको ठाउँमा कंशाकार सांसद बन्नेछिन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.