काठमाडौं : प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिले संसद बैठकमा टिसर्ट र जिन्स लगाउन नपाउने निर्णय गरेको छ।
सभामुख, उपसभामुख, कानुनमन्त्रीसहित दलका प्रमुख सचेतक र मनोनीत सांसद रहने समितिले प्रतिनिधि सभा बैठकमा सांसदहरूले मर्यादित पोशाक लगाउनुपर्ने निर्णय गरेको हो। सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिमा पोशाकलाई छलफलको विषय बनाएका थिए।
छलफलमा सांसदहरूलाई कोट अनिवार्य गर्ने र टिसर्ट-जिन्स लगाउन नमिल्ने निर्णय भएको हो। ‘अमर्यादित पोशाक नलगाउने र मर्यादित पोशाक लगाउने बरू सांस्कृतिक पहिचान झल्कन मिल्ने पोशाक लगाउने कुरा भयो,’ संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भने, ‘प्रतिक चिन्हको सम्मानका साथ प्रयोग गर्ने कुरा भयो।’
अमर्यादित पोशाकका बारेमा भने नियमावलीमा स्पष्ट व्यवस्था नभएको पनि उनले बताए। ‘अमर्यादित पोशाक के हो भन्ने विषयमा भने नियमावलीमा स्पष्ट व्यवस्था छैन,’ गिरीले भने, ‘सामान्यतया बुझ्दाखेरि जिन्स र टिसर्टहरू नलगाउने भन्ने कुरा हो। संसदको गरिमा कायम राख्न मर्यादित पोशाक लगाउने भन्ने कुरा भएको हो।’
नेकपा एमालेकी सांसद विद्या भट्टराईले कार्यव्यवस्था परामर्श समितिको सुझावमा सभामुखले पोशाक तोक्न सक्ने व्यवस्था प्रतिनिधि सभाको नियमावलीले गरेको बताइन्।
‘सामाजिक सञ्जालमा पनि केहीदिन देखि प्रश्न आए। सांसदहरूले औपचारिक खालका पोशाक लगाउँदा राम्रो हुन्छ भन्ने कुरा भए,’ भट्टराईले भनिन्, ‘नीति तथा कार्यक्रम पेश हुने बेला भएकाले पहिला पनि सामान्यतया औपचारिक पोशाकमा आउने भन्ने खालका कुरा हुन्थे। त्यहि सन्दर्भलाई जोडेर गरिमा कायम हुने पोशाक लगाउने कुरा भयो।’
‘सांसदको पहिचानका लागि ‘हाफ कोट’ अथवा कोट लगाउने बाहिर भन्ने भयो। जिन्स पाइन्ट टाइपको इन्फर्मल अथवा क्याजुअल ड्रेस नलगाउने भन्ने कुरा भयो,’ उनले थपिन्। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले औपचारिक पोशाक अथवा परम्परा, संस्कृति झल्कने पोशाक लगाउने भनेर नियमावलीमा लेखिएको बताए।
‘कसैको परम्परा झल्कने सांस्कृतिक पोशाक छ भने अगल कुरा भयो नभए कोट लगाउने, कोटमा लोगो लगाउने, कुर्ता पाइजामा लगाउने हो भने बाहिरपट्टी ‘वेस्ट कोट’ वा हाफ कोटमा लोगो लगाउने कुरा भयो,’ लेखकले भने, ‘टिसर्टमा सर्टमा वा स्विटरमा वा ब्लाउजमा अनि कुर्ता वा सलवार लगाउँदा कुर्तामा लोगो नलगाउने भन्ने हो।’ कांग्रेसकै सांसद नगिना यादवले सभ्य कपडा लगाउने निर्णय भएको बताइन्।
‘लोगो अनिवार्य गर्ने अनि पोशाकमा सभ्य लगाउँदा राम्रो। कसैकसैले जिन्स नै लगाएर गइदिन्छन्। कसैले टिसर्ट लगाएर गइदिन्छन्। त्यसमा लोगो लगाउँछ। कम्तिमा आफ्नो संस्कृति झल्काउने किसिमको सम्म अथवा कोट लगाएर लोगो लगाउने भन्ने कुरा भयो,’ उनले कपडाबारे भएको निर्णय उचित भएको बताइन्।
‘सांसद जस्तो गरिमामय पद भएकाले सांसद जस्तो पनि देखिनुपर्यो,’ यादवले भनिन्, ‘संसदमा जाँदाखेरि संस्कृति अनुसारको सभ्य ड्रेस लगाउने कोटलाई अनिवार्य गर्ने कुरा भयो। सबैको कुरा एउटै आयो। जिन्स लगाएर सदनमा नजाने, वास्तवमा जिन्स र टिसर्ट राम्रो देखिँदैन। त्यसले जिन्स नलगाउने र सभ्य ड्रेस लगाएर त्यसमा लोगो लगाउने भन्ने कुरा भयो।’