काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचार नयाँ वा पुरानो राजनीतिक दलले गरेको भन्ने नहुने बताएका हुन् । शनिवार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नयाँ वा पुरानो भनेर छुट नहुने बताएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीलक्षित टिप्पणी गर्दै उनले कानुनको शासनभन्दा माथि कोही पनि नहुने बताए । प्रश्नभन्दा माथि कोही पनि नेता नरहेको बताउँदै उनले सर्वसाधारणले गरेको ठगी ठगी भएको जस्तै शक्तिशालीले गरेको ठगी पनि ठगी नै हुने भएकाले शक्तिशालीलाई छुट दिन नहुने बताए ।
सर्वसाधारणले गरेको कुनै कीर्ते कीर्ते नै हुने भएकाले शक्तिशालीको गरेको कीर्ते पनि कीर्ते नै हुने उनले बताए । ‘एउटा सामान्य मान्छेले वडामा गएर सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्छ भने त्यसले मन्त्री भएर यदि सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्छ भने त्यो भ्रष्टाचार नै हुन्छ,’ उनले भने, ‘भ्रष्टाचार कांग्रेसले गरे पनि भ्रष्टाचार हुन्छ, एमालेले गरे पनि भ्रष्टाचार नै हुन्छ, माओवादीले गरे पनि भ्रष्टाचार नै हुन्छ, नयाँ पार्टीले गरेको भ्रष्टाचार पनि भ्रष्टचार नै हुन्छ ।’
महामन्त्री थापाले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै कांग्रेसले देशको उद्योग–धन्दा बेचेर खाएको आरोप लगाएको भन्दै कम्युनिष्ट सरकारले अहिले एउटा उद्योग खोलेर देखाउन चुनौती दिए ।
उनले अहिले प्रधानमन्त्री, अर्थमन्त्री कम्युनिष्ट पार्टीकै भएकाले नयाँ उद्योग खोलेर देखाउन आग्रह गरे । सरकारले उद्योग धन्दा गर्ने नभई निजी क्षेत्रले गर्नेमा कम्युनिष्टहरु जानकार रहेकाले पनि खोल्न नसक्ने उनले बताए । महामन्त्री थापाले २०८१ साललाई नेपाली कांग्रेसको पुनःजागरणको साल बनाउनुपर्ने बताए ।












