हेटौंडा/ हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई बलात्कार र सामूहिक आक्रमणका धम्की आइरहेको खुलासा गरेकी छिन्।
उनले भावनात्मक स्टाटस लेख्दै नेपाली समाजमा महिला भएर बाँच्नु कति कठिन छ भन्ने अनुभव बाँडेकी छन्।
उनले लेखेकी छन् —
“महिला भएर जन्मनु गर्वको कुरा हो, तर नेपाली समाजमा महिला भएर बाँच्नु कठिन छ। जेनजी आन्दोलनपछि मैले यो समाजको वास्तविक अनुहार देखेकी छु।”
जेनजी आन्दोलनपछि धम्की र आक्रमण
मेयर लामाले जेनजी आन्दोलनका क्रममा हेटौंडा उपमहानगरपालिकाले छात्रवृत्तिमा आफ्ना नगरवासीलाई प्राथमिकता दिने नीति समर्थन गरेकी थिइन्।
तर सो अभिव्यक्तिपछि उनीमाथि मधेश विरोधी आरोप लगाइँदै सामाजिक सञ्जालमा चरित्रहत्या र धम्की सुरु भएको बताइएको छ।
उनले लेखेकी छन् —
“फेसबुक र ह्वाट्सएपका इन्बक्सहरूमा बलात्कार गर्ने धम्कीका सन्देशहरू पढिनसक्नुका थिए। राति–राति फोन गरेर भेट्ने प्रस्तावहरू आइरहेका थिए।”
मेयर लामाले दुई पटक सार्वजनिक रूपमा माफी मागेकी थिइन्, तर समाजले त्यो माफीलाई समेत स्वीकार नगरेको बताएकी छन्।
उनका अनुसार,
“माफीले के मान्थ्यो र? उल्टै मलाई बलात्कार गरेपछि हेटौंडाका केही युवाहरू शान्त हुनेवाला थिए।”
‘महिला मैत्री सहर’ घोषणाको विडम्बना
धम्कीको वातावरणकै बीच, हेटौंडा उपमहानगरपालिकाले मिति २०८२ साल कात्तिक १८ गते महिला मैत्री सहर घोषणा गर्नका लागि सहयोगी संस्था UNOPS सँग सम्झौता गरेको छ।
तर सो सम्झौताकै दिन मेयर लामाले लेखेकी छिन् —
“महिला मैत्री सहर घोषणा भइरहेको बेला मलाई बलात्कार गर्ने चाहना राख्दै सन्देश पठाउने ती युवाहरू सम्झिरहेकी छु।”
उनले प्रश्न उठाइन् —
“एउटी महिला, त्यो पनि नगर प्रमुखले गल्ती गरिन् भने, उनको सजाय बलात्कार हो कि कानुनी सजाय?”
सामाजिक सन्देश र आभार
मेयर लामाले आफ्नो स्टाटसमा सहयोगीहरूप्रति आभार प्रकट गर्दै लेखेकी छन् —
“यो महत्वपूर्ण कार्यमा UNOPS का Country Director कोमल कार्की, सरोज दाहाल, सम्पदा थापा, वडा अध्यक्षहरू र नगरका कर्मचारी सबैलाई धन्यवाद।”
तर अन्त्यमा उनले गहिरो सन्देश दिएकी छन् —
“एउटी नारी बलात्कृत हुन जन्मएकी होइन। एउटी नारीको उपयोगिता यौन होइन। एउटी नारीको गल्तीको सजाय बलात्कार होइन।”
उनले समाजका युवाहरूसँग आग्रह गर्दै लेखेकी छन् —
“नारीलाई बलात्कार मात्रै सोच्ने पुरुषहरूले आफ्नो आमा, दिदीबहिनी र छोरी सम्झनुस्।”





















