हेटौंडा/ मकवानपुरमा हालै सरुवा भई आएका जिल्ला प्रमुख अधिकारी बसन्त अधिकारीले हेटौडा बसपार्क क्षेत्रमा यात्रुहरूलाई जबरजस्ती झोला तानेर सवारी साधनमा चढाउने जस्ता कार्यविरुद्ध कडा कारबाही थालेका छन्। बिहीबार बिहानै प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाएको छ।
आज बिहान करिब ७:४५ बजे, हेटौडा उपमहानगरपालिका–१० स्थित बसपार्क क्षेत्रमा यात्रुहरूलाई असजिलो र त्रासपूर्ण वातावरण सिर्जना गर्दै जबरजस्ती झोला तानेर यात्रुको इच्छा विपरीत सवारीमा चढाउने कार्यमा संलग्न चार जना व्यक्तिहरूलाई प्रहरी चौकी बसपार्कबाट खटिएको टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेकाहरूमा —
१. रोहन कुमार भुजेल (२३ वर्ष), बारा कोल्वी नगरपालिका–२,
२. सुरज कुमार (१९ वर्ष), हेटौडा–१०,
३. सुशान्त तामाङ (३० वर्ष), हेटौडा–१, र
४. जीवन थोकर (३५ वर्ष), हेटौडा–११ रहेका छन्।
उनीहरू विरुद्ध “अभद्र व्यवहार गरेको” अभियोगमा आवश्यक कानुनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
जिल्ला प्रमुख अधिकारी बसन्त अधिकारीले पदभार ग्रहण गरेसँगै सार्वजनिक स्थानहरूमा यात्रु र सर्वसाधारणको सुरक्षालाई प्राथमिकता दिँदै अनियमित गतिविधि नियन्त्रणमा ल्याउने प्रतिबद्धता जनाएका छन्। बसपार्क क्षेत्रमा भइरहेको यात्रु दुर्व्यवहार, जबरजस्ती बोलाउने र धम्की दिने कार्यप्रति स्थानीयले पनि असन्तुष्टि जनाउँदै आएका थिए।

















