हेटौंडा/ हेटौंडा उपमहानगरपालिका–४ नं. वडाले ट्राफिक व्यवस्थापन सुधारका नयाँ कदम चाल्ने तयारी गरेको छ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नविन सिक्देलको नेतृत्वमा भएको बैठकमा जनप्रतिनिधि, जिल्ला ट्राफिक, वडा प्रहरी, उपमहानगर नगर प्रहरी, टोल विकास संस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूले सडकमा सहज आवागमन सुनिश्चित गर्न महत्वपूर्ण निर्णयहरू लिएका छन्।
प्रमुख निर्णयहरू
१. पार्किङ व्यवस्थापन:
कान्तिराजपथ, ख्वपीगल्ली, स्कुलरोड, अजरअम्मर रोड, नन्दस्थान, गरुणपथ र नगरविकास रोडमा एकतर्फी बायाँ पार्किङ लागू गरिनेछ।
२. वान–वे प्रणाली:
ख्वपीगल्ली, स्कुलरोड र अजरअम्मर रोडमा वान–वे प्रणाली लागू गरिनेछ।
३. भारी सवारी साधनको समय नियन्त्रण:
भारी सवारी साधन बिहान ८ बजे अघि र बेलुका ७ बजेपछि मात्र सञ्चालन गर्न पाइनेछ।
अध्यक्ष नविन सिक्देलका अनुसार, यी निर्णय मंसिर १ गतेदेखि कडाइका साथ लागूगरिनेछ। उनले भने, “सडकमा भीड घटाउन र यात्रु तथा स्थानीयको सुरक्षा सुनिश्चित गर्न यी कदमहरू आवश्यक छन्।”
















