हेटौंडा/ हेटौंडा उपमहानगरपालिका–९ माष्टरचोकमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ।
शनिबार बिहान जनकपुरबाट काठमाडौं तर्फ आउँदै गरेको यात्रुबाहक बस (बा.प्र.०३–००१ ख २६५६) ले ठक्कर दिँदा रुपन्देही देवदह नगरपालिका–८ निवासी ३७ वर्षीय रामबहादुर बोहराको मृत्यु भएको हो।
प्रहरी नायब उपरीक्षक (डीएसपी) पुष्कर बोगटीका अनुसार गम्भीर घाइते बोहरालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो।
घटनापछि बस र चालकलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्थानीय बासिन्दाले माष्टरचोक क्षेत्रमा पैदल यात्रुका लागि सुरक्षित मार्गको अभाव र सवारीसाधनको तीव्र गतिका कारण दुर्घटनाको जोखिम बढ्दै गएको बताएका छन्।






















