हेटौंडा/ हेटौंडा उपमहानगरपालिका–१० नम्बर वडा कार्यालय नजिकै रहेको सार्वजनिक ट्वाइलेट लामो समयदेखि फोहोर र दुर्गन्धले भरिएको अवस्थामा रहेको स्थानीयको गुनासो बढ्दै गएको छ। बजार तथा बसपार्क क्षेत्रको बीचमा रहेको यो शौचालय प्रयोग गर्न यात्रुहरू निकै असहज महसुस गरिरहेका छन्। टाढा–टाढाका गाउँबाट उपचार, किनमेल वा यात्रा प्रयोजनले शहर आएका सर्वसाधारणका अनुसार शौचालयको अवस्था यति दयनीय छ कि बस्न नै गाह्रो हुने अवस्था छ।
नागरिकको गुनासोपछि गरिएको अनुगमनका क्रममा पनि शौचालयमा नियमित सरसफाइ नहुँदो, फोहोर थुप्रिएको, पानीको व्यवस्थापन कमजोर हुनुका साथै दुर्गन्ध अत्यधिक रहेको स्पष्ट देखिएको छ। नगरका मुख्य प्रवेशद्वार मानिने बसपार्क क्षेत्रमै यस्तो अवस्थामा सार्वजनिक शौचालय सञ्चालन हुँदा यात्रु तथा स्थानीय दुवैलाई असुविधा भएको उनीहरूको भनाइ छ।
सार्वजनिक सम्पत्तिको संरक्षण र सरसफाइ जिम्मेवारी उपमहानगरपालिका तथा वडा कार्यालयकै कर्तव्यभित्र पर्ने भए पनि जिम्मेवार निकायले बेवास्ता गरेको आरोप नागरिकले लगाएका छन्। “राजधानीको मुटु मानिने क्षेत्रमै यस्तो अव्यवस्था हुँदा नगरपालिकाले कहिले ध्यान दिने हो ?” एक स्थानीय व्यवसायीले प्रश्न गरे।
फोहोर संकलन, नियमित सरसफाइ तथा मर्मत सम्भार कसले गर्ने हो भन्ने स्पष्ट नहुँदा समस्या लामो समयदेखि दोहोरिनु अन्याय भएको यात्रुहरूको भनाइ छ। सार्वजनिक स्वास्थ्य तथा सहरको सँघारमै रहेका यात्रुहरूको सुविधालाई मध्यनजर गर्दै सम्बन्धित निकायले चाँडै प्रभावकारी कदम चाल्नुपर्ने माग स्थानीयले गरेका छन्।
यात्रु तथा स्थानीयले यस समस्यामा नगर तथा वडा कार्यालयले तत्काल ध्यान दिई शौचालयलाई स्वच्छ, सुरक्षित र प्रयोगमैत्री बनाउन आग्रह गरेका छन्।

















