हेटौंडा / मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, जातीपोखरीमा भिरबाट लडेर एक ९ वर्षीया बालिकाको मृत्यु भएको छ।
स्थानीय बिरेन्द्र वाईवाकी छोरी लमिना वाईवा चैत ९ गते दिउँसो करिब ३:३० बजे घाँस काट्न भनी घरबाट करिब ५०० मिटर दक्षिणतर्फ रहेको चुत्रोघारीडाँडा जंगलतर्फ गएकी थिइन्। साँझसम्म पनि घर फर्किन नआएपछि परिवार तथा स्थानीयले खोजतलास सुरु गरेका थिए।
खोजीका क्रममा चैत १० गते बिहान करिब ७:०० बजे चुत्रोघारीडाँडाको भिरबाट करिब ३०० मिटर तल उनी मृत अवस्थामा फेला परेकी हुन्। घटनाको जानकारी बिहान ७:३० बजे प्रहरी चौकी सिस्नेरीमा प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर क्षेत्र सुरक्षित बनाएको थियो।
घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय भीमफेदीबाट SOCO सहितको टोली खटिएको प्रहरीले जनाएको छ।
















