वन डिभिजन कार्यालय मकवानपुरको वन डढेलो व्यवस्थापन सप्ताह’ले बढायो सचेतना

Image

हेटौंडा/ मकवानपुरमा यस वर्ष वन डढेलोको जोखिम नियन्त्रणमा राख्न प्रारम्भिक चरणमै गरिएका प्रयास प्रभावकारी देखिएका छन्। “वन डढेलो व्यवस्थापन सप्ताह” अन्तर्गत आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत डिभिजन वन कार्यालयले हालसम्म ठूलो क्षति हुने खालका डढेलोका घटना नदेखिएको जनाएको हो।

कार्यालयका प्रमुख राकेश प्रसाद चन्द्रवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वन क्षेत्रमा सम्भावित जोखिम न्यूनीकरणका लागि चालिएका कदमहरूबारे विस्तृत जानकारी दिइयो। वन अधिकृतहरूले विगतका अनुभवलाई आधार मान्दै यस वर्ष सुरुदेखि नै सचेतनामूलक कार्यक्रम, पूर्वतयारी तथा निगरानी प्रणालीलाई प्राथमिकतामा राखिएको बताए।

सप्ताहव्यापी अभियानअन्तर्गत विभिन्न वन क्षेत्रमा जनचेतना अभिवृद्धि, जोखिमयुक्त क्षेत्रको पहिचान, स्थानीय समुदायसँग सहकार्य विस्तार तथा निगरानी संयन्त्र सुदृढीकरणका कामहरू गरिएको जानकारी दिइयो। विशेषगरी सामुदायिक वन उपभोक्ता समूहहरूसँग समन्वय गर्दै सम्भावित डढेलो प्रभावित क्षेत्रमा सरसफाइ, सचेतना फैलाउने र आवश्यक उपकरण तयारी अवस्थामा राखिएको उल्लेख गरिएको छ।

कार्यक्रममा वन अधिकृत हेम कुमार पाठकले विगतका प्रयासहरूको समीक्षा गर्दै आगामी रणनीतिबारे प्रस्तुती दिएका थिए। उनले वन डढेलोका मुख्य कारणका रूपमा मानवीय लापरबाही, जथाभावी आगो बाल्ने प्रवृत्ति, अव्यवस्थित दाउरा संकलन तथा मौसमीय प्रभावलाई औंल्याए। यी समस्याहरू न्यूनीकरण गर्न समुदायस्तरमै जिम्मेवारीबोध र सक्रियता आवश्यक रहेको उनको भनाइ थियो।

डिभिजन वन कार्यालयका अनुसार आगामी दिनमा तापक्रम वृद्धि र लामो सुख्खा मौसमका कारण डढेलोको जोखिम अझ बढ्न सक्ने भएकाले थप सतर्कता अपनाइनेछ। यसका लागि नियमित वन गस्ती, अग्नि रेखा निर्माण, द्रुत उद्धार टोली तयारी तथा आवश्यक

उपकरण व्यवस्थापनलाई प्राथमिकता दिइने योजना रहेको छ।
कार्यक्रममार्फत सर्वसाधारणलाई वन क्षेत्रमा जथाभावी आगो नबाल्न, डढेलो देखिएमा तुरुन्त सम्बन्धित निकायलाई खबर गर्न तथा वन संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको छ।

सहभागीहरूले वन संरक्षण र वातावरणीय सन्तुलन कायम राख्न डढेलो नियन्त्रण सबैको साझा दायित्व भएकोमा जोड दिएका छन्।