हेटौंडा/ बागमती प्रदेशका कृषक र कृषि उद्यमीहरूलाई एउटै थलोमा जोड्दै कृषि क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले हेटौँडा मा बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी मेला २०८२ आयोजना हुने भएको छ। चैत १३ देखि १६ गतेसम्म सञ्चालन हुने उक्त मेला मकवानपुर उद्योग वाणिज्य संघ को कृषि प्रवर्द्धन समितिको संयोजनमा पहिलोपटक आयोजना गर्न लागिएको हो।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष प्रमोद सिंह रानाभाट ले मेलाले कृषि क्षेत्रमा युवाको आकर्षण बढाउने र किसानको आत्मविश्वास अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार, स्थानीय उत्पादनको बजारीकरण र कृषिमा नवीन अभ्यासको विस्तारका लागि मेला उपयोगी प्लेटफर्म बन्नेछ।
हेटौँडास्थित पल्पसा सदनमा सञ्चालन हुने कार्यक्रमको उद्घाटन बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री मधुसुदन पौडेल ले गर्ने कार्यक्रम तय गरिएको छ।
मेलामा मकवानपुर सहित सिन्धुली, रामेछाप, काभ्रे, काठमाडौं र चितवन जिल्लाका कृषक तथा उद्यमीहरूको सहभागिता रहनेछ। आयोजकका अनुसार ४० वटा स्टल निःशुल्क उपलब्ध गराइनेछन्, जहाँ स्थानीय उत्पादनहरू प्रदर्शन तथा बिक्री गरिनेछ।
प्रदर्शनीमा कोदो, फापर, जुनेलो जस्ता परम्परागत अन्नदेखि मह, मसला, अचार, गुन्द्रुक, मस्यौरा, डेरीजन्य उत्पादन, माछा, च्याउ लगायत विविध कृषि उत्पादन समेटिनेछन्। साथै, आधुनिक कृषि प्रविधि र उपकरणहरूको पनि प्रदर्शन गरिनेछ, जसले कृषकलाई नवीन अभ्यासतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रम सञ्चालनका लागि कुल ५ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ, जसमा ५ लाख रुपैयाँ बागमती प्रदेश सरकार बाट प्राप्त हुने र बाँकी रकम आयोजकले आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने जनाएको छ।
















