हेटौँडामा वातावरण संरक्षणका लागि व्यवहार परिवर्तनमा जोड, प्लास्टिक र इन्धन प्रयोग घटाउन आग्रह

Image

हेटौँडा / ५४ औं विश्व वातावरण दिवसको अवसरमा बागमती प्रदेशको हेटौंडामा आयोजित कार्यक्रममा वातावरण संरक्षणका लागि व्यवहारिक परिवर्तन आवश्यक रहेकोमा जोड दिइएको छ। कार्यक्रममा मुख्यमन्त्री बानियाँले प्लास्टिक, डिजेल र पेट्रोलको अनियन्त्रित प्रयोगले वातावरणमा गम्भीर असर पारिरहेको बताउँदै नागरिकस्तरमै सचेतना र अभ्यास परिवर्तन जरुरी रहेको उल्लेख गर्नुभयो।

मुख्यमन्त्री बानियाँका अनुसार वातावरण प्रदूषण बढेसँगै मानव स्वास्थ्यमा समेत प्रत्यक्ष असर देखिन थालेको छ। क्यान्सरलगायत विभिन्न रोगहरू बढ्दै गएको उल्लेख गर्दै उहाँले “वातावरण बिग्रिँदा त्यसको असर अन्ततः हामीमै फर्किन्छ” भन्ने सन्देश दिनुभयो। उहाँले वातावरण सुधारको सुरुवात व्यक्तिगत व्यवहारबाट हुनुपर्नेमा जोड दिनुभयो।

प्रदेश सरकारले वातावरणमैत्री विकासलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रममा नयाँ व्यवस्था समावेश गरेको पनि उहाँले जानकारी दिनुभयो। निर्माण संरचनामा काठको प्रयोगलाई प्राथमिकता दिने, फोहोर व्यवस्थापनमा स्रोतमै वर्गीकरण अनिवार्य गर्ने जस्ता कदम अघि सारिएको उहाँको भनाइ थियो। साथै, विद्युतीय सवारीसाधन र इन्डक्सन चुलोको प्रयोग बढाएर स्वदेशी ऊर्जाको अधिकतम उपयोग गर्नुपर्ने आवश्यकता औँल्याइयो।

वन तथा वातावरणमन्त्री भरतबहादुर केसीले जलवायु परिवर्तनका कारण हिमाल पग्लिने, बाढीपहिरो र अन्य प्राकृतिक विपद् बढ्दै गएको उल्लेख गर्दै वातावरण संरक्षण घरबाटै सुरु गर्नुपर्ने बताउनुभयो। उहाँले फोहोरलाई कुहिने, नकुहिने र जोखिमयुक्त गरी छुट्याउने अभ्यासलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा टोल विकास संस्थाहरूको भूमिकालाई पनि विशेष रूपमा उल्लेख गरिएको थियो। सरसफाइ, वृक्षारोपण र हरियाली प्रवर्द्धनमा उनीहरूको योगदानले हेटौँडालाई वातावरणमैत्री सहर बनाउने प्रयासलाई बल पुगेको बताइयो। यस अवसरमा ‘बोतलसँग बिरुवा साट्ने’ जस्ता जनसहभागितामूलक कार्यक्रमसमेत सञ्चालन गरिएको थियो।

कार्यक्रमका वक्ताहरूले वातावरण संरक्षणलाई केवल अभियान नभई दैनिक जीवनशैली बनाउनुपर्ने निष्कर्ष निकालेका छन्