मकवानपुरकी गायिका सुनिता शर्मा लुइँटेल काठमाडौंमा सम्मानित

Image

हेटौंडा/ सुनिता शर्मा लुइँटेल लाई संगीत तथा सञ्चार क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै “संगीतमा समर्पित सर्वोत्कृष्ट साधक तथा जीवित धरोहर सम्मान” प्रदान गरिएको छ। राजधानी काठमाडौंमा आयोजित दोस्रो संस्करणको ग्लोबल स्टार अवार्ड २०२६ मा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।

लामो समयदेखि गायन, रेडियो प्रसारण, सञ्चारकर्म, सांस्कृतिक कार्यक्रम सञ्चालन तथा सिर्जनात्मक कला क्षेत्रमा सक्रिय रहँदै आएकी लुइँटेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योगदान पुर्‍याउँदै आएको भन्दै आयोजकले सम्मान गरेको जनाएको छ।

दक्ष इन्टरनेशनल द्वारा आयोजित कार्यक्रममा कला, पत्रकारिता, शिक्षा, स्वास्थ्य, पर्यटन र सामाजिक सेवासहित विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा देशभरबाट कलाकार, पत्रकार, व्यवसायी, समाजसेवी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सम्मान ग्रहणपछि लुइँटेलले आफूले गरेको निरन्तर साधनाको मूल्यांकन भएको अनुभूति भएको बताइन्। उनले यस्तो सम्मानले संगीत र सञ्चार क्षेत्रमा अझ जिम्मेवार भएर काम गर्न प्रेरणा मिलेको प्रतिक्रिया दिइन्।

लुइँटेल यसअघि पनि विभिन्न पुरस्कार तथा सम्मानबाट सम्मानित भइसकेकी छन्। उनले सन् २००० मा मकवानपुर जिल्लाकै उत्कृष्ट गायिकाको सम्मान प्राप्त गरेकी थिइन् भने वि.सं. २०६५ मा चिनारी संगीत पुरस्कार तथा जागरुक महिला सम्मान समेत प्राप्त गरिसकेकी छन्।

कार्यक्रमका अध्यक्ष तथा वरिष्ठ सेलिब्रेटी मेकअप आर्टिस्ट तेजराज पाण्डे ले समाजमा सकारात्मक योगदान दिने व्यक्तित्वहरूको सम्मानमार्फत थप ऊर्जा प्रदान गर्नु कार्यक्रमको उद्देश्य रहेको बताए। साथै उनले आगामी संस्करणहरूलाई अझ व्यापक र अन्तर्राष्ट्रिय स्तरमा विस्तार गरिने जानकारी दिए।