कृषि तथ्यांक संकलन र सर्वेक्षणमा चुनाैती

Image
Oplus_131072

बैतडी : कृषि तथ्यांक र सर्वेक्षण गर्न चुनाैती रहेकाे एक कार्यक्रमका सहभागीहरूले बताएका छन्। बुधबार सदरमुकाममा आयाेजना गरेकाे कृषि तथ्यांक अद्यावधिकका लागि कृषि सर्वेक्षण सम्बन्धि स्थानीय तहका कृषि प्राविधिक तथा सराेकारवाला निकायहरूसंग अन्तक्रिर्या गाेष्ठीमा सहभागीहरूले यस्ताे बताएका हुन्।

स्थानीय तह जिम्मेवार नबन्दा कृषि तथ्यांक संकलनमै चुनाैती रहेकाे जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीले बताउनुभयाे। स्थानीय तहहरूले कृषि क्षेत्र प्राथमिकतामा राखेका छैनन् ।

उहाँले भन्नुभयाे,” कृषिको सबै अधिकार स्थानीय तहलाई दिएकाे छ। वास्तविक तथ्यांक नहुँदा लक्षित वर्गसम्म कार्यक्रम पुग्न सकेकाे छैन्। वास्तविक किसानका जसस्या उस्तै छन्। उनीहरूकाे समस्या समाधान हुन सकेकाे छैन।”

गाेष्ठीमा बाेल्दै प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले कृषिकाे सबै अधिकार स्थानीय तहलाई रहेपनि एकिन तथा विश्वसनीय तथ्यांक नरहेकाे बताउनुभयो ।

उहाँले भन्नुभयाे,”तथ्यांक संकलनमा स्थानीय तहहरूले विषेश ध्यान दिनुपर्छ। एकिन तथा विश्वसनीय तथ्यांक नहुँदा अलमल भएकाे छ। यसले याेजना निर्माणका लागि समस्या हुन जान्छ।”

अनुदान पाउने कुराहरू एकै व्यक्ति तथा संस्थाले पाउने गरेकाे गुनासाे आउने र यसकाे अन्त्य हुनुपर्ने बताउदै उहाँले कृषिकाे व्यवशायीकरण र किसानकाे हकहितका लागि पालिकाहरू लाग्नुपर्नेमा जाेड दिनुभयो ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख हेमराज भट्टले अनुदानका लागि उद्योग दर्ता हुने तर काम नगर्ने प्रवृत्ति बढेको बताउनुभयो ।

उहाँले भन्नुभयाे,” कृषि तथा पशुपंक्षीसम्बन्धि उद्योग दर्ता गर्ने क्रम बढेकाे छ । उद्योग बढेपनि उत्पादनमुखी छैनन् । पहुँचका भरमा मात्रै अनुदान पाउने भएकाेले निस्पक्ष हुन जरुरी छ।”

कृषि ज्ञान केन्द्रका प्रमुख हरिदत्त जाेशीले कृषि ज्ञान केन्द्रले तथ्यांक पुस्तिका प्रकाशनकाे तयारी गरिरहेकाले सबै पालिकाहरूलाई तथ्यांक उपलब्ध गराइदिन आग्रह गर्नुभयाे।

उहाँले भन्नुभयाे,” स्थानीय तहहरूमा कृषि सम्बन्धि कामकाज हुने र त्यसको तथ्यांककाे अवस्थाका बारेमा जानकारी हुँदैन ।कृषि ज्ञान केन्द्रले तथ्यांक पुस्तिका प्रकाशन गर्दैछ । सबै पालिकाहरूलाई तथ्यांक उपलब्ध गराइदिन आग्रह छ।”

मालपोत कार्यालयका प्रमुख तर्कराज जाेशीले जग्गा वर्गीकरणकाे काम आवश्यक रहेकाेले सबै स्थानीय तहहरूलाई वर्गीकरणकाे काम अगाडि बढाउन अनुराेध गर्नुभयाे ।

गाेष्ठीमा स्थानीय तहका कृषि शाखा प्रमुखहरूले आ-आफ्नाेे पालिकाकाे कृषिसम्बन्धि जानकारी गराएका थिए। पुर्चाैडी नगरपालिकाका कृषि शाखा प्रमुख उत्तम बहादुर विष्टले कृषि तथ्यांक संकलनमा कठिनाई रहेकाे बताउनुभयो । उहाँले भन्नुभयाे,”कृषि तथ्यांककाे प्रयास भएपनि कृषकले वास्तविक तथ्यांक दिने आलटाल गर्ने गरेका छन्।”

दशरथचन्द नगरपालिकाका कृषि शाखाका प्रमुख दिपक कार्कीले बसाइँसराइका कारण कृषक घट्दै गएकाे बताउदै वर्षदिन खानपुग्ने अन्न उत्पादन गर्ने किसान न्यून रहेका बताउनुभयो ।

कृषि ज्ञान केन्द्र बैतडीद्वारा आयाेजित गाेष्ठीमा जिल्ला समन्वय समितिका प्रमुख धामी,प्रमुख जिल्ला अधिकारी उपाध्याय, विभिन्न कार्यालयका प्रमुख,सबै स्थानीय तहका कृषि शाखाका प्रमुखहरू, नागरिक समाजका प्रतिनिधिलगायत सराेकारवाला निकायहरूकाे सहभागीता रहेकाे थियाे।