दार्चुला: दार्चुलाको नौगाड गाउँपालिकामा आज बिहान जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।
होपरीबाट होपरीगाडतर्फ जाँदै गरेको सु.प.प्र. ०४००१ ज ०१०३ नम्बरको जीप बिहान करिब ९ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
दुर्घटनामा घाइते भएका ११ जनामध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते हुनेमा पार्वती टमटा (२५), मोहन ठगुन्ना (२६), अप्सरा महता (१८) र उमेश ठगुन्ना (३५) रहेका छन्।
घाइतेहरूको उद्धार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको छ। प्रारम्भिक अनुसन्धानअनुसार चिप्लो सडकमा ब्रेक नलाग्दा दुर्घटना भएको बताइएको छ।
प्रहरीले जीप चालक लाकेन्द्र सिंह ठगुन्नालाई नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।















