हेटौंडा/ बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपत्का बेला पुराना भनिएका राजनीतिक दलका नेता तथा कार्यकर्ता प्रभावित क्षेत्रमा पुगेर उद्धार, राहत र पुनःस्थापनामा खटिएको तर नयाँ भनिएका दलका नेता तथा कार्यकर्ता सामाजिक सञ्जालमै सीमित भएको टिप्पणी गर्नुभएको छ।
रसुवाको भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले प्रत्यक्ष रूपमा खटिएर काम गरेको उल्लेख गर्दै उहाँले नयाँ भनिएका दलको सक्रियता सामाजिक सञ्जालमा बढी देखिएको बताउनुभयो।
“अस्ति महाविपत्ति आउँदा पुराना दलका नेता–कार्यकर्ताहरू फिल्डमा खट्यौँ, हामी भूगोलमा खट्यौँ, नयाँ भनाउँदाहरू सबै गुगलमा रमाए,” मुख्यमन्त्री थापा मगरले भन्नुभयो।
उहाँले एमालेका भ्रातृ संगठन युवा संघ, युथ भोलेन्टियर, जिफन्टलगायतका नेता तथा कार्यकर्ता बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत र व्यवस्थापनमा खटिएको बताउनुभयो। नेकपाको युवा संगठन वाइसीएललगायत अन्य राजनीतिक दलका कार्यकर्ता पनि प्रभावित क्षेत्रमा सहयोगका लागि पुगेको उहाँको भनाइ थियो।















