हेटौँडा / झापाको शिवसताक्षीमा भूमिगत डिजेल ट्याङ्की विस्फोट भएर आगलागी भएको घटनापछि हेटौँडाका पेट्रोल पम्पको सुरक्षा अवस्थाबारे अनुगमन गर्न माग गरिएको छ।
सेवा सहयोग आवाज नेपालका अध्यक्ष तथा समाजसेवी बिसाल राज महतले हेटौँडाको बजार तथा घना बस्तीबीच सञ्चालनमा रहेका इन्धन पम्पहरूमा सम्भावित जोखिम न्यूनीकरण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
उनले पेट्रोल पम्प तथा भूमिगत इन्धन भण्डारण ट्याङ्कीको प्राविधिक अवस्था, सुरक्षा मापदण्ड, नियमित परीक्षण, अग्नि नियन्त्रण उपकरण र आपत्कालीन तयारीको तत्काल अनुगमन गर्न माग गरेका छन्।
‘दुर्घटना भएपछि उद्धार र क्षतिको व्यवस्थापन गर्नुभन्दा दुर्घटना हुनै नदिनु महत्वपूर्ण हो,’ महतले भनेका छन्।
उनले जनधनको क्षति भएपछि मात्र सक्रिय हुने प्रवृत्तिको अन्त्य गर्दै सम्भावित दुर्घटना रोक्न समयमै सावधानी अपनाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

















