हेटौँडा । ताप्लेजुङको ओलाङचुङगोला नजिक नेपाल–तिब्बत सीमा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर मंगलबार बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको छ। बिहान ७ बजेर १७ मिनेटमा गएको भूकम्पको धक्का काठमाडौं उपत्यकासहित पूर्वी तथा मध्य तराईका विभिन्न जिल्लामा महसुस गरिएको थियो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार ओलाङचुङगोला आसपास तिब्बत सीमा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। उनले भूकम्पलाई मध्यमस्तरको रहेको बताएका छन्।
भूकम्पको धक्का केन्द्रबिन्दु आसपासका क्षेत्रमा बलियोसँग महसुस गरिएको थियो। काठमाडौं उपत्यका तथा पूर्वी र मध्य तराईका विभिन्न जिल्लामा समेत कम्पन महसुस भएपछि सर्वसाधारण त्रसित बनेका थिए।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले भूकम्पबाट भएको क्षतिको विवरण हालसम्म प्राप्त नभएको बताएका छन्। स्थानीय तहसँग समन्वय गरी क्षतिको विवरण संकलन भइरहेको उनले जानकारी दिए।













