हेटौंडा / प्रतिनिधिसभा सदस्य महेश कुमार बर्तौलाले राष्ट्रपतिको भूमि सम्बन्धी अध्यादेशले भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बस्तीको समस्या समाधानतर्फ ठोस कदम चालिएको बताउनुभयो ।
शुक्रबार मनहरी ६ डिपाडमा भूमि समस्या समाधान संघर्ष समिति मनहरीले आयोजना गरेको “नेपाल सरकारलाई धन्यवाद ज्ञापन तथा दीप प्रज्वलन कार्यक्रम” मा बोल्दै बर्तौलाले लामो समयदेखि जटिल समस्याका रूपमा रहेको भूमि समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो।
उनले राष्ट्रपतिको अध्यादेशसँगै देशभरका १४ लाख सुकुम्बासी जग्गाको कानूनी मालिक बन्ने सुनिश्चित भएको बताउदै विगतमा गठन भएका आयोगहरूले प्राविधिक काम गर्न नसक्दा सुकुम्बासीहरूले लालपुर्जा प्राप्त गर्न नसकेको उल्लेख गर्दै, हालको आयोगले छिट्टै लालपुर्जा वितरण गरेर सुकुम्बासीलाई जग्गाको मालिक बनाउने काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने सुकुम्बासीलाई पनि कानूनी समस्या नआउने गरी आयोग गठन भएकाले लालपुर्जा वितरणमा कुनै अवरोध नरहने उनको भनाइ रहेको थियो।
कार्यक्रममा संघर्ष समिति मनहरीका अध्यक्ष क्षेत्र बहादुर मोक्तानले अध्यक्षता गरेका थिए भने भूमि समस्या समाधान आयोग मकवानपुरका अध्यक्ष बलराम बल, नेकपा माओवादी केन्द्र मकवानपुरका सचिव बीर बहादुर घलान (ज्वाला), नेपाली कांग्रेस मनहरीका सभापति प्रकाश बर्तौला, र नेकपा एमाले मनहरीका अध्यक्ष नविन सुवेदी लगायतको उपस्थिति रहेको थियो।