नेपालसँगको सिरिज ‘क्लिन स्विप’ गरेपछि के भन्छन् पिएनजी कप्तान?

Image

काठमाडौं ।

दोस्रो एकदिवसीय खेलमा तीन विकेटको जित निकालेसँगै पपुवा न्युगिनी (पिएनजी) ले नेपालविरुद्धको एकदिवसीय शृंखला २–० ले जित्दै क्लिन स्विप गरेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको दुई सय ७९ रनको लक्ष्य पिएनजीले ४८.४ ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो ।

पिएनजीका लेगा सिएकाले सर्वाधिक ९० रन बनाए । उनले एक सय दुई बलमा १२ चौका र एक छक्का प्रहार गरे । यस्तै, रिले हेकुरेले ४८, सेसे बाउले ३८ र चार्ल्स एमिनीले ३५ रन बनाए । स्कोरबोर्डमा ७८ रन हुँदा तीन विकेट गुमाएको पिएनजीको इनिङ एमिनी र सिएकाले सम्हालेका थिए । यी दुई ब्याटरले चौथों विकेटका लागि एक सय १० रनको साझेदारी गरेका थिए ।

नेपालका सोमपाल कामीले तीन विकेट लिए । यस्तै, पवन सर्राफले दुई विकेट लिँदा कप्तान सन्दीप लामिछानेले एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ७८ रनको योगफल तयार गरेको थियो । नेपालका मध्यक्रम ब्याटर दीपेन्द्रसिंह सतकीय इनिङ खेलेका थिए ।

नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङमा आएको दीपेन्द्रले एक सय ४० बलमा सात चौकासहित एक सय पाँच रन बनाए । उनको यो पहिलो एकदिवसीय शतक हो । स्कोरबोर्डमा पाँच रन जोड्दा दुबै ओपनर गुमाएको नेपालको इनिङ दीपेन्द्र र देव खनालले कीर्तिमानी साझेदारी गर्दै उकासेका थिए । देव र दीपेन्द्रले कीर्तिमानी एक सय २९ रनको साझेदारी गरेका थिए ।

जुन एकदिवसीय क्रिकेटमा नेपालको सबैभन्दा उच्च साझेदारी हो । एकदिवसीय खेलमा पहिलो अर्धशतक बनाएका देवले ८६ बलमा चार चौका र तीन छक्कासहित ७२ रन बनाए । यसबाहेक, नेपाली टोलीको खातामा रोहितकुमार पौडेलले ३५, भिम सार्कीले २६ रन बनाउँदा अन्तिममा आक्रामक ब्याटिङ गरेका कप्तान सन्दीप लामिछानेले नौ बलमा दुई चौका र एक छक्कासहित २४ रनको योगदान गरेका थिए ।

नेपाली टोलीका ओपनरद्वय कुशल भुर्तेल गोल्डेन डकआउट हुँदा अनिल साह एक रनमा आउट भएका थिए । यसबाहेक पवन सर्राफ पनि गोल्डेन डकआउट भएका थिए । टोलीको खातामा आरिफ शेखले चार, सोमपाल कामी तीन रनमा अविजित रहेका थिए ।

पिएनजीका एलिइ नाओले तीन विकेट लिए । यस्तै, नोर्मान भानुआले दुई विकेट लिँदा चाड सोपर र चार्ल्स एमिनीले समान एक विकेट हात पारे । यसअघि भएको पहिलो खेलमा शुक्रबार नेपाल पिएनजीसँग ६ रनले पराजित भएको थियो । एकदिवसीय शृंखला समाप्त भएसँगै सोमबारदेखि नेपाल र पिएनजीसँगै मलेसिया सम्मिलित त्रिदेशीय ट्वान्टी २० शृंखला खेल्नेछ ।

सिरिज जितेपछि के भन्छन् पीएनजीका कप्तान?

नेपाललाई घरेलु मैदानमै वानडे सिरिजमा हराएपछि पीएनजी कप्तान असद भालाले आफ्नो प्रतिक्रिया दिएका छन्। खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सिरिज जित्दा खुसी लागेको बताएका छन्।

उनले नेपाल आउनुभन्दा पहिले नै आफूहरु यो खालको नतिजा निकाल्न सक्ने लक्ष्यमा रहेको बताएका छन्। ‘हामीले नेपाल आउनुभन्दा पहिले नै हामी यो खालको नतिजा निकाल्न सक्छौं भनेर सोचेर आएका थियौँ,’ उनले भने, ‘हामीले राम्रो नतिजा निकाल्न सक्छौं भनेर सोचेका थियौँ। र, त्यो नजिता निकाल्न पनि सफल भयौं। यसमा खुसी छौँ।’

उनले पहिलो खेलले आजको म्याचका लागि आफूहरूलाई झन उत्साहित बनाएको बताएका छन्। ‘हामीले यूएईमा खेलिसकेपछि नेपालमा खेल्ने राम्रो अवसर पायौँ। नतिजाबाट निकै खुसी छौँ,’ उनले भने, ‘नेपालले राम्रो खेल्यो। तर नेपालको कमजोरी कहाँ रह्यो भन्नेबारे म केही भन्दिन। किनभने मैले मेरो टिमको मात्रै ख्याल गरेको छु।’

उनले थपे, ‘हामीले लगातार खेल हार्दै गएपछि नेपाल आउनुभन्दा पहिले कोचसँग केही सल्लाह लियौं सोही कारण यो सफलता मिलेको हो।’ उनले अब नेपाल र मलेसियासँगको टी–२० सिरिजमा यस्तै नतिजाको आशमा रहेको बताएका छन्।

‘हामी यहीँ लयलाई टी–२० सिरिजमा पनि निरन्तरता दिन चाहन्छौं। हामी अब पहिलोपटक यहाँ टी–२० खेल्दैछौँ। त्यसमा हामी कस्तो खेल्छौँ भनेर टेष्ट हुनेछ। हामी जतिसक्दो राम्रो खेल्ने प्रयास गर्नेछौँ,’ उनले भने।