कोलकाताको जितमा रसेलले गरे छक्काको वर्षा, यस्तो बन्यो अंक तालिका

Image

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पञ्जाब किंग्सविरुद्ध कोलकाता नाइट राइडर्स (केकेआर) ६ विकेटले विजयी भएको छ । केकेआरको यो दोस्रो जित हो । उसले तीन म्याच खेल्दा एक खेलमा भने हार बेहोरेको छ ।

तेस्रो खेलमा पञ्जाबले दिएको १३८ रनको लक्ष्य केकेआरले १४.४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । उसका लागि आन्द्रे रसेलले आक्रामक पारी खेले । उनले ३१ बलमा सात छक्का र दुई चौकासहित अविजित ७० रनको योगदान दिए ।

कप्तान श्रेयस अय्यरले २५, साम बिलिङ्सले नटआउट २४ र अजिंक्य रहाणले १२ रन बनाए । पञ्जाबका राहुल चाहरले दुई, कागिसो रबाडा र ओडीन स्मिथले एक/एक विकेट लिए । त्यसअघि मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित १८.२ ओभरमा सबै विकेट गुमाएर १३७ रन बनायो ।

उसका लागि भानुका राजापाक्षले ३१, कागिसो रबाडाले २५, लियाम लिभिङस्टोनले १९, शिखर धवनले १६, हरप्रीत ब्रारले १४ र राज बावाले ११ रन बनाए । केकेआरका उमेश यादवले ४ ओभरमा एक मेडनसहित २३ रन दिएर ४ विकेट लिए ।

त्यस्तै, टिम साउथीले दुई, आन्द्रे रसेल, सुनिल नारायण र शिवम मावीले एक/एक विकेट लिए । आजको जितसँगै केकेआर अंक तालिकाको शीर्षमा उक्लिएको छ । उसले ३ खेलबाट ४ अंक जोडेको छ ।

पञ्जाब सातौं स्थानमा खस्किएको छ । त्यस्तै, दोस्रो, तेस्रो, चौथो, पाँचौं, छैटौं, आठौं, नवौं र दशौं स्थानमा क्रमशः राजस्थान, दिल्ली, गुजरात, लखनऊ, बैंग्लोर, चेन्नई, मुम्बई र हैदराबाद रहेका छन् ।