काठमाडौं ।
यही वर्ष (२०२२) कतारमा आयोजना हुने फिफा विश्वकपको उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरविरुद्ध खेल्ने भएको छ । फिफाले गएराति सार्वजनिक गरेको समूह विभाजनअनुसार उद्घाटन खेलमा कतारले इक्वेडरविरुद्ध खेल्ने भएको हो ।
यी दुई टोलीबीचको खेल २१ नोभेम्बरमा अल बायत स्टेडियममा हुनेछ । पहिलो दिन थप तीन खेलहरू हुनेछन् । जसमा सेनेगलले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, समूह ‘बी’ का दुई खेल हुनेछन् । जसमा इङ्ल्यान्डले एसियाली मुलुक इरानसँग खेल्नेछ । कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ । कतार विश्वकपमा ३२ टोलीको सहभागिता रहने छ ।
अल्मुताइरीको समर्थन कुन टिमलाई? यस वर्षको फिफा विश्वकपमा पनि नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अर्जेन्टिनाको समर्थन गर्ने भएका छन् । शुक्रबार फिफाले सार्वजनिक गरेको समूह विभाजनपछि उनले आफ्नो समर्थन रहने टोलीको नाम सार्वजनिक गरेका हुन् ।
अल्मुताइरीले फेसबुकको माइस्टोरीमा समूह विभाजनको तस्बिर राख्दै अर्जेन्टिनाको पक्षमा रहेको उल्लेख गरेका छन् । उनले स्टोरीमा राखेको तस्बिरमा ‘आइ लभ अर्जेन्टिना’ पनि लेखेका छन् । यसको अर्थ अल्मुताइरी यसपालिकाको विश्वकपमा अर्जेन्टिनाको पूरा समर्थनमा हुने देखिन्छ्न् । अल्मुताइरीले बेलाबेला लिओनल मेस्सीको पनि खुलेर प्रशंसा गर्ने गरेका छन् ।
यस्ताे छ कतार विश्वकपकाे समूह विभाजन : समूह ए– कतार, इक्वेडर, नेदरल्याण्ड्स, सेनेगल, समूह बी– इंग्ल्याण्ड, इरान, अमेरिका, युरोपेली प्लेअफको विजेता (वेल्स/युक्रेन/स्कटल्यान्ड) समूह सी– अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको, पोल्याण्ड, समूह डी– फ्रान्स, डेनमार्क, ट्युनिसिया, प्लेअफ १ को विजेता (अस्ट्रेलिया /युएई/पेरु), समूह ई– स्पेन, जर्मनी, जापान, प्लेअफ २ विजेता (कोस्टारिका/न्युजिल्याण्ड), समूह एफ– बेल्जियम, मोरक्को, क्रोएसिया, क्यानडा, समूह जी– ब्राजिल, सर्बिया, स्विट्जरल्याण्ड, क्यामरुन, समूह एच– पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना