आईपीएलमा लगातार पाँचौं हार बेहोरेपछि के भन्छन् रोहित?

Image

काठमाडौं ।

मुम्बई इन्डियन्सको हारको श्रृंखला रोकिएको छैन । उसले यो सिजन पञ्जाब किंग्सविरुद्धको हारसँगै लगातार पाँच हार बेहोरेको छ । टिमको लगातार पाँचौं हारपछि कप्तान रोहित शर्माले प्रतिक्रिया दिएका छन् ।

‘हामीले राम्रो खेल्यौं, खेल समाप्त गर्न धेरै नजिक पुग्यौं । केही रनआउटले हामीलाई मद्दत गरेन । दोस्रो हाफमा राम्रो बलिङ गरेको श्रेय पञ्जाबलाई जान्छ । फरक सोचका साथ खेल्ने योजनामा थियौँ । तर यसले राम्रोसँग काम गरिरहेको छैन,’ रोहितले म्याच सकिएपछि भने ।

उनले आगामी खेलमा राम्रो तयारीका साथ उत्कृष्ट कमब्याक गर्नुपर्नेमा पनि जोड दिए । ‘हामी राम्रो क्रिकेट खेलिरहेका छैनौं । हामीले परिस्थिति बुझेर त्यसअनुसार काम गर्नुपर्छ । हाम्रा बलरहरूमा दबाब थिए । तर पिच ब्याटिङका लागि राम्रो थियो । तर, हामी सफल हुन सकेनौं । हामीले राम्रो तयारीका साथ फर्किनु पर्छ,’ रोहितले भने ।

मुम्बईलाई दोहोरो झड्का

पञ्जाबविरुद्ध मुम्बईले हार मात्र ब्यहोरेन, उसले ठूलो कारबाही पनि भोग्नु परेको छ । मुम्बईलाई स्लो ओभर रेटका कारण ठूलो जरिवाना गरिएको हो । प्रतियोगितामा मुम्बई स्लो ओभर रेटमा दोषी ठहर भएको यो दोस्रोपटक हो ।

यसअघि पनि टोलीले एकपटक यस्तो गल्ती गरिसकेको छ । जसकारण यस पटक कप्तान रोहित शर्मालाई २४ लाख भारु र प्लेइङ–११ मा रहेका अन्य सदस्यलाई जनही ६ लाख भारु र म्याच शुल्कको २५ प्रतिशत जरिवाना गरिएको छ ।

यसअघि २७ मार्चमा दिल्ली क्यापिटल्ससँगको खेलपछि पनि स्लो ओभर रेटका कारण रोहितलाई कारबाही गरिएको थियो । मुम्बईको टोलीले निर्धारित समयमा बलिङ पूरा गर्न सकेको थिएन ।