बैंग्लोरले दियो दिल्लीलाई विशाल लक्ष्य, कार्तिक र म्याक्सवेलले गरे चौका/छक्काको वर्षा

Image

काठमाडौं ।

भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) ले दिल्ली क्यापिटल्सलाई १९० रनको लक्ष्य दिएको छ । मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको आरसिबीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८९ रन बनायो ।

उसका लागि दिनेश कार्तिक र ग्लेन म्याक्सवेलले आक्रामक पारी खेले । कार्तिकले ३४ बलमा पाँच छक्का र पाँच चौकासहित अविजित ६६ रन बनाए । त्यस्तै, म्याक्सवेलले ३४ बलमा सात चौका र दुई छक्काको सहयोगमा ५५ रनको योगदान दिए । सहबाज अहमद ३२ रनमा अविजित रहे ।

कप्तान फाफ डुप्लेसिस आठ, विराट १२, सुयश प्रभुदेसाई ६ रनमा आउट भए । अनुज रावतले भने खाता खोल्न सकेनन् । दिल्लीका लागि कुलदीप यादव, अक्षर पटेल, खलिल अहमद र शार्दुल ठाकुरले एक/एक विकेट लिए ।

जारी लिगमा आरसिबीले पाँच म्याच खेल्दा तीनमा जित र दुई खेलमा हार बेहोरेको छ । दिल्लीले चार म्याचमध्ये दुईमा जित र दुई खेलमा हारको सामना गरेको छ । यी दुवै टिमले अघिल्लो खेलमा हार बेहोरेका थिए ।

कार्तिकले एकै ओभरमा बनाए २८ रन

जारी सिजनमा कार्तिकले आरसिबीका लागि उत्कृष्ट फिनिसिङ गरिरहेका छन् । उनले दिल्लीविरुद्ध पनि सोही लयलाई निरन्तरता दिए । दिल्लीविरुद्ध त कार्तिकले एकै ओभरमा २८ रन जोडे ।

उनले खेलको १८ औं ओभरमा चार चौका र दुई छक्कासहित २८ रन जोडेका हुन् । कार्तिकले मुस्तफिजुर रहमानको ओभरमा आक्रामक पारी खेले । उनले ओभरको पहिलो, दोस्रो, तेस्रो र छैटौं बलमा चौका तथा चौथो र पाँचौँ बलमा छक्का प्रहार गरे ।