दिनेश कार्तिक : श्रीमती र मिल्ने साथीबाटै पाएका थिए धोका, दीपिकाका कारण फेरियो जीवन

Image

काठमाडौं ।

विकेटकीपर/ब्याटर दिनेश कार्तिक आईपीएल २०२२ मा उत्कृष्ट लयमा छन् । रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) बाट लिग खेलिरहेका उनले टिमको जितमा महत्वपूर्ण योगदान दिइरहेका हुन् । ३६ वर्षीय कार्तिकले सात खेलमा २०५.८८ को शानदार स्ट्राइकरेटमा २१० रन बनाएका छन् ।

उनले आरसिबीको पाँच जितमा अहम् भूमिका खेलेका छन् । लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका कार्तिकलाई धेरै समर्थकले आसन्न टी–२० विश्वकपमा भारतीय टिममा देख्न चाहेका छन् । र, धेरैले उनलाई विश्वकप टिममा राख्नुपर्ने आवाज पनि उठाइरहेका छन् ।

आउँदो टी–२० विश्वकप यही वर्षको अक्टोबर/नोभेम्बरमा अष्ट्रेलियामा हुँदैछ । कुनै बेला कार्तिकलाई महेन्द्रसिंह धोनीपछिको उत्कृष्ट विकेटकीपरको रूपमा चिनिन्थ्यो । तर, जीवनमा आएका आरोहअवरोहका कारण उनी अन्तर्राष्ट्रिय क्रिकेटमा खासै चम्किँन सकेनन् । उनको कथा कुनै फिल्मभन्दा कम छैन ।

साथी र श्रीमतीबाटै धोका

सबैभन्दा मिल्ने साथी र पहिलो श्रीमतीले धोका दिएपछि कार्तिकको जीवनमा मात्र होइन क्रिकेटमा पनि त्यसको असर पर्यो । साथी र श्रीमतीबाट पाएको ठूलो धोकाका कारण आफ्नो जीवनदेखि उनलाई विरक्त लाग्यो । धोका सहन नसेकर कार्तिकले आ’त्मह’त्या गर्नेसम्म सोचे । तर, उनी सम्हालिए ।

घरेलु क्रिकेटमा उनले लगातार शानदार प्रदर्शन गरिरहेका थिए । त्यसकै कारण कार्तिकलाई तमिलनाडु टोलीको कप्तान पनि बनाइयो । तर, श्रीमती र साथीबाट पाएको धोकाले त्यहाँ पनि उनको प्रदर्शन खस्किन थाल्यो ।

कार्तिकले २००७ मा बाल्यकालकी साथी निकिता भान्जारासँग बिहे गरे । केही वर्षपछि निकिताको अफेयर कार्तिकको मिल्ने साथी मुरली विजयसँग सुरु भयो । दिनेशसँगको सम्बन्ध नटुट्दै उनी मुरलीको बच्चाकी आमा बन्न लागेकी थिइन् । यो कुरा कार्तिकबाहेक तमिलनाडुका अन्य खेलाडीलाई भने थाहा थियो ।

अचानक एक दिन निकिताले कार्तिकलाई नै यो कुरा सत्य बताइन् । र, उनले दिनेशसँग डिभोर्स मागिन् । दुवैको सम्बन्धविच्छेदपछि निकिता मुरली विजयसँग बस्न थालिन् । मुरलीले आईपीएलमा चेन्नईका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका थिए ।

घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेपछि उनी भारतीय टिममा समेत छनोट भए । यता कार्तिकको प्रदर्शनमा भने लगातार गिरावट आउन थाल्यो । खराब प्रदर्शनका कारण उनी टोलीबाटै बाहिरिए । खराब लयका कारण उनलाई तमिलनाडु टोलीको कप्तानबाट पनि हटाइयो ।

उनको स्थानमा तमिलनाडुको कप्तानमा मुरली विजय नियुक्त भए । दिनहरू खराब चलेपछि कार्तिक डिप्रेसनमा गए । त्यही कारण पनि आइपिएलमा उनको ब्याटबाट रन निस्किरहेको थिएन ।

दीपिकाका कारण फेरियो जीवन

कार्तिकले तालिमसमेत छोडिसकेका थिए । उनले जिम जान पनि छाडे । एकदिन प्रशिक्षक दिनेशको घरमा आए । उनले दिनेशलाई देवदास जस्तै दाह्री बढाएर कुनामा बसेको देखेँ । त्यसपछि, प्रशिक्षकले उनलाई आफ्नो प्रशिक्षण पुनः सुरु गर्न जोड दिए । कार्तिकले पनि उनको कुरा स्वीकार गरे । र, उनी जिम जान थाले। दिनेशले अहिलेकी श्रीमती दीपिका पल्लिकललाई पनि जिममै भेटेका थिए ।

दीपिका र दिनेश मिल्ने साथी बने । कार्तिकले फेरि नेटमा अभ्यास गर्न थाले । र, घरेलु प्रतियोगितामा पनि उनले रन बनाउन थाले। दिनेशलाई दीपिकाले कठिन समयमा पाइलापाइलामा साथ दिइन् । कार्तिक फेरि दैनिकी फेरिएपछि पुनः भारतीय टिममा छनोट भए ।

उनले पछि दीपिकासँग विवाह पनि गरे । कार्तिक आईपीएलमा कोलकाताको कप्तान पनि बने । दीपिका स्क्वास खेलाडी हुन् । उनले पनि स्क्वासमा उत्कृष्ट खेल देखाइन् । र, उनले ग्लासगोमा भएको विश्व च्याम्पियनसिपमा जोश्ना चिनप्पासँग महिला युगल र सौरभ घोषालको मिक्स डबल्स दुवै जितिन् ।

दिनेश जब उनी ३४ वर्षको उमेरमा आईपीएलमा कप्तान थिए । त्यसपछि उनी संन्यास लिएर फ्रेन्चाइजी क्रिकेट मात्र खेल्न चाहन्थे । यही क्रममा उनकी दीपिका गर्भवती भइन् । उनले २०२१ मा जुम्ल्याहा छोरालाई जन्म दिइन् । श्रीमतीको हेरचाहका कारण कार्तिकले खेल्न छोडे । उनले कमेन्टरी मात्र गर्न थाले ।

दीपिकाको त्यो सुझाव…

चेन्नईको पोश गार्डेनमा एउटा आलिशान घर किन्ने कार्तिकको थियो । तर, त्यसको लागत निकै महँगो थियो । त्यसपछि दीपिकाले उनलाई भनिन्, ‘हामी दुवै आफ्नो खेलमा ध्यान केन्द्रित गर्नेछौँ । र, तिम्रो सपना साकार पार्नेछौँ ।’ पछि यो जोडीले एउटा आलिशान घर पनि किन्यो ।

आईपीएल २०२२ को मेगा अक्सनमा कार्तिकलाई चेन्नईले अनुबन्ध गर्न चाहेको थियो । तर, बैंग्लोरले अनुबन्ध गर्न सफल भयो । कार्तिक ५ करोड ५० लाख भारुमा आरसिबीमा अनुबन्ध भएका हुन् ।